विद्यार्थीलाई मोडर्ना खोप



बाँके, (नेस) ।

बाँकेमा विद्यार्थीलाई मोडर्ना खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, एसपी श्यामकृष्ण अधिकारी, खोप अधिकृत नरेश श्रेष्ठको उपस्थितिमा नेपालगन्जको धम्बोझी माध्यमिक विद्यालयबाट खोपको शुरुआत गरिएको थियो । स्वास्थ्यकर्मीले स्कुल–स्कुलमा पुगेर बालबालिकालाई खोप लगाइरहेका छन् । बाँकेमा १२ देखि १७ वर्ष उमेरका ६९ हजार बालबालिका रहेका छन् ।

सरकारले खोप लगाउनका लागि स्कुल खोलेको छ । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले जिल्लाका २ सय ७० वटा स्कुलबाट खोप लागि रहेको बताउनुभयो । ‘सबैलाई पायक पर्ने गरी विद्यालय छनोट गरेर त्यहाँबाट खोप लगाइरहेका छौं’, स्वास्थ्य कार्यालय प्रमुख शाहले भन्नुभयो– ‘दुई दिनसम्म खोप लगाउने हो । भ्याइएन भने अरू दिन पनि लगाइन्छ ।’

नेपालगन्ज उपमहानगरपालिकामा ५० वटा स्कुलबाट खोप लगइएको छ । सबै विद्यालयमा खोप लगाउने बालबालिकाको भीडभाड छ । बाँकेमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन ६८ हजार ६ सय ४० डोज भ्याक्सिन आएको छ । सरकारले यसअघि १२ कक्षाको परीक्षा अघि १८ वर्षमाथिका विद्यार्थीलाई खोप लगाएको थियो । जिल्लामा अहिले बुस्टर डोज लगाउने काम पनि भइरहेको छ । ६ महिना अघि दुई मात्रा लगाइसकेका व्यक्तिलाई बुस्टर मात्रा लगाइएको छ । अहिलेसम्म खोप नै नलगाएका व्यक्तिलाई पनि समेटिएको छ । बाँकेमा अझै एउटा खोप पनि नलगाएका १८ प्रतिशत मानिस रहेका छन् । उनीहरुलाई समेट्ने प्रयास भइरहेको छ । स्वास्थ्य कार्यालय बाँकेले पहिलो खोप नलगाएका बस्तीलाई लक्षित गरेर कार्यक्रम अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्