फोनपे र खल्तीबीच सहकार्य

0
Shares

काठमाडौं (नेस) ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तीव्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ । एक कार्यक्रमका बीच फोनपेकातर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आबद्ध भएको छ ।

अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्युआरमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।

सम्झौता कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो– ‘पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तीव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ ।’ हामी दुवै कम्पनीको लडाईं भनेको नगद कारोबारसँग हो । क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा हाम्रो सहकार्यले थप मद्दत पुग्नेछ ।

यस्तै, खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्नुभयो–‘यससहकार्यबाट खल्ती फोनपेको मात्र नभई २० लाखभन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौं अप्रत्यक्ष जनता लाभान्वित हुनेछन् ।’ यो सहकार्यले इकोसिस्टमलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौं । हामी दुवै ठूलो उद्देश्य एउटै छ जुन हो नेपाललाई डिजिटल बनाउने जसको लागि हामी सँगै अघि बढ्दैछौं ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्षअगाडि स्थापना भएको फोनपेमा हाल ५लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।