बर्ड फ्लु देखिएपछि मोरङमा उच्च सतर्कता

0
Shares

विराटनगर, (नेस) ।

बर्ड फ्लु देखिएपछि मोरङमा सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।

पछिल्लो समय बर्ड फ्लुको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगी र व्यवसायीलाई आग्रह गरेको हो । आफूले पालेका पन्छी अस्वाभाविक रूपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो ।

विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालका अनुसार प्राप्त सूचनाका आधारमा नमुना सङ्कलन गरी बर्ड फ्लु पहिचान भए जुन ठाउँमा सङक्रमण देखिएको त्यहाँ तत्कालै पन्छी नस्ट गर्ने गरिन्छ । सङक्रमण नियन्त्रणका लागि रोगी मात्र नभएर सँगै रहेका पन्छीसमेत नस्ट गर्नुपर्ने भएकाले यसले आर्थिक रूपमा धेरै क्षति गर्ने उहाँको भनाइ छ । पन्छी, पन्छीजन्य वस्तु अण्डा, दानामा हुन जाने क्षतिको सरकारले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।

किसानले क्षतिका आधारमा ७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था छ । बर्ड फ्लु कुखुरा, हाँस, परेवा तथा जङ्गली पन्छीमा मात्र नभएर मानिसलाई समेत सर्ने भएकाले विशेष सावधानी अपनाउन उहाँको सुझाव छ । इन्फ्लुएन्जा भाइरसको कारण देखिने बर्ड फ्लु संक्रामक रोग मानिन्छ । गएको आइतबार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा–५ मा बर्ड फ्लु पुष्टि भएपछि सरकारले उच्च सर्तकता तथा निगरानी बढाएको हो ।

रोग देखिएको मोरङको प्रभावित क्षेत्रमा निसङ्क्रमण तथा उच्च निगरानी गरेको पनि विभागका प्रवक्ता डा.ढकालले जानकारी दिनुभयो । अरू ठाउँमा सङक्रमण फैलन नदिन चनाखो रहेको पनि उहाँले बताउनुभयो । मोरङमा यो बेला कसरी सङ्क्रमण देखिएको भन्न नसकिए पनि जङ्गली तथा आगन्तुक चराबाट सङ्क्रमण देखिएको हुनसक्ने उहाँको भनाइ छ ।