६ लाख ५० हजार दिने सहमतिपछि मृतकका परिवारले शव बुझे

0
Shares

तनहुँ, (नेस) ।

गत सोमबार राती भएको दुर्घटनामा मृत्यु भएका तनहुँका दुई जनाको परिवारलाई ६ लाख ५० हजार रुपियाँका दरले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै मंगलबार र बुधबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएपछि पीडित पक्ष र ट्रक व्यवसायी समितिबीच बुधबार सहमति भएको हो ।

बिमामार्फत ५ लाख र ट्रक व्यवसायी समितिको तर्फबाट १ लाख ५० हजार रुपियाँका दरले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ । मृतकका परिवारले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि आफन्तजनले शव बुझेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकका परिवारलाई काजक्रियाबापत ५० हजार रुपियाँ बुधबारै उपलब्ध गराइएको छ । ट्रकको ठक्करबाट सोमबार राती व्यास नगरपालिका–५ साँगेका अनिल बाचे मगर र विकास विकको मृत्यु भएको थियो ।

जन्म दिन मनाउन बन्दीपुर जाने क्रममा व्यास–१२ देउरालीमा लु १ ख ९८३२ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको थियो । दमौलीबाट बन्दीपुरतर्फ जाँदै गरेको ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा उनीहरूको घट्नास्थलमै मृत्यु भएको थियो । मृत्यु भएका दुवै जनाको शव दमौली अस्पतालस्थित शवगृहमा राखिएको थियो । सहमतिपश्चात् दुवै जनाको परिवारले शव बुझेर अन्तिम संस्कार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।