नेपालगञ्जमा होल्डिङ सेन्टर : तीन सय बेड तयार, सात सय बेड बन्दै

0
Shares

बाँके ।

नेपालगञ्जमा निर्माण गरिएको होल्डिङ सेन्टरमा तीन सय बेड तयार भएको छ । एक हजार बेडको होल्डिङ सेन्टरमा तीन सय बेड तयार भएको हो । बाँकी सात सय बेड यही महिनाभित्र तयार हुने प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । ‘अहिले दु्रतगतिमा काम भइरहेको छ । तीन सय बेड तयार भइसकेको छ । बाँकी सात सय बेड यही महिनाभित्र तयार हुन्छ, प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो, कोरोनाका बिरामी राख्नुपर्ने भएमा अहिले नै तीन सय जनालाई राख्न सकिन्छ ।’

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४, भवानीयापुरमा २९ करोड ३८ लाख दुई हजार ८९ रुपियाँमा हजार बेडको होल्डिङ सेन्टर बनिरहेको छ । कोरोनाका बिरामीलाई लक्षित गरेर बनाइएको होल्डिङ सेन्टरमा विपदमा परेका व्यक्तिलाई राखिने प्रजिअ खत्रीले बताउनुभयो । ‘अहिले कोरोनाका बिरामी बस्छन् । यो होल्डिङ सेन्टरमा विपदमा परेका जोसुकैलाई राख्छौं, प्रजिअ खत्रीले भन्नुभयो, भूकम्प, बाढीपीडित पनि राख्न सकिन्छ ।’

नेपालगञ्जमा अहिले बाल मन्दिरमा रहेको आइसोलेसन सेन्टरमा कोरोनाका बिरामीलाई राख्ने गरिएको छ । भारतबाट आएका संक्रमितलाई बाल मन्दिरको आइसोलेसनमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाउने गरिएको छ । नाकाबाट आउने र सम्बन्धित पालिकामा जाने निरन्तर चलिरहेको छ । भारतबाट आएका र जिल्लामा पनि एकैपटक ठूलो संख्यालाई कोरोना पुष्टि भएमा उनीहरूलाई होल्डिङ सेन्टरमा राख्ने रणनीति बनाइएको छ ।

बाँकेमा अहिले कोरोना जाँच भएकामध्येमा ७० प्रतिशतबढीलाई कोरोना पुष्टि हुने गरेको छ । कोरोना पुष्टि भएकाहरूमा लक्षण देखिएको छैन । प्रायःजसो होम आइसोलेसनमा बसेका छन् । भारतबाट आएका तीन दर्जनलाई दैनिक कोरोना पुष्टि हुने गरेको छ । उनीहरूलाई बालमन्दिरमा रहेको आइसोलेसनमा राख्ने र पठाउने गरिएको छ । राख्ने ठाउँ नै नभएको अवस्था छैन । यद्यपि, होल्डिङ सेन्टरमा समयमा निर्माण हुन सकेको छैन । २०७८ साउनमा सम्झौता भएको होल्डिङ सेन्टर असोज २४ गते सम्पन्न गर्नुपथ्र्यो । यो अवधिमा काम नसकिएपछि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । थपिएको समयमा पनि होल्डिङ सेन्टर तयार हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी खत्रीले तीन सय बेड अहिले नै तयार रहेको, यो महिनाभित्र हजार बेड नै तयार हुने र चैत्रमा सम्पूर्ण फिनिसिङ गरेर हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

बाँके कोरोनाको पहिलो र दोस्रो चरणको हटस्पट नै हो । फेरि पनि महामारीको रूपमा कोरोना फैलिएमा राख्ने ठाउँको अभाव हुन नदिन हजार बेडको होल्डिङ सेन्टर बनाइएको छ । सरकारले नेपाली सेनामार्फत ठेकेदारबाट होल्डिङ सेन्टरको काम गराइरहेको छ । नेपाली सेनाले पनि पटक–पटक अनुगमन निरीक्षण गर्दै छिटो काम सक्न ठेकेदार कम्पनीलाई दबाब दिइरहेको छ । नेपाली सेनाको निरीक्षणाधिकृत विभागका निरीक्षणाधिकृत उपरथी निरञ्जनकुमार श्रेष्ठको टोलीले होल्डिङ सेन्टरको निरीक्षण गरेको छ । निरीक्षणपछि उपरथी श्रेष्ठले आवश्यक समन्वय र सहकार्य गरेर समयमै होल्डिङ सेन्टरलाई सञ्चालन गर्न निर्देशन दिनुभयो ।