आजको मौसम : यी ठाउँमा छ हिमपात र वर्षाको सम्भावना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश सँगै अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार भने देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा र हिमपातले चिसो बढ्न सक्ने भन्दै त्यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत माहाशाखाले अनुरोध गरेको छ।