नारायणहिटी संग्रहालयको जिम्मा सहसचिव डा. श्रेष्ठलाई

0
Shares

काठमाडौं, (नेस) ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक हेरचाह समितिको जिम्मेवारी मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठलाई दिएको छ ।

संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि संग्रहालयको आर्थिक, प्रशासनिकलगायत सम्पूर्ण काम प्रभावित भएको थियो । संग्रहालयको दैनिक सञ्चालनमा समेत आर्थिक संकट आउन थालेको कर्मचारीको गुनासो आएपछि तत्काल काम चलाउनका लागि मन्त्रालयका सहसचिव डा. श्रेष्ठलाई जिम्मेवारी दिइएको हो । करिब एक साताअघि पुरातत्व विभागबाट मन्त्रालयको संस्कृति महाशाखामा सरुवा भएका सहसचिव डा. श्रेष्ठलाई मन्त्रालयले अर्को व्यवस्था नभएसम्म काम गर्न पत्र दिएको हो । सहसचिव श्रेष्ठले मन्त्रालयमै बसेर संग्रहालयको थप जिम्मेवारी बहन गर्ने हुनुभएको छ ।

संग्रहालयभित्र रेस्टुराँ निर्माणको क्रममा अनियमितता भएको आरोप लागेपछि कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो । बतास समूहले रेस्टुराँ बनाउँदा अनियमितता भएको आरोपमा छानबिन गर्न गठित समितिलाई सहजता दिन कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो ।