सर्वोच्चको सेवा कटौती लम्बियो



काठमाडौं, (नेस) ।

कोरोना संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्दै गएपछि सर्वोच्च अदालतले माघ ४ गतेदेखि गरेको सेवा कटौती थप १० दिन लम्ब्याएको छ । सर्वोच्चको अदालतको बुधबार बसेको पूर्ण बैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताउनुभएको छ । बुधबार सार्वजनिक बिदा परेकोले सो निर्णय आज बिहीबारदेखि लागु हुने अदालतले जनाएको छ । सर्वोच्चले यसअघि माघ १८ गतेसम्मका लागि विभिन्न सेवा कटौती गरेको थियो ।

अदालतको प्रकृतिअनुसार अदालतमा हुने उपस्थिति र भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति, कानुन व्यवसायी एवं अदालतमा आउने सेवाग्राही, सरोकारवालाहरूको स्वास्थ्य सुरक्षा र रोग जोखिम न्यूनीकरण गर्न सुनुवाइ कार्यहरू सीमित ढंगले सञ्चालन गर्न सो व्यवस्था लागु गरिएको अदालतले जनाएको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बढी भीडभाड नगरी मुद्दा/निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुने अदालतको निर्णयमा उल्लेख छ ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसंग सम्बन्धित रिट निवेदनहरूको नियमित सुनुवाइ गरिरहेको छ । त्यस्तै मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही नियमित रूपमा सञ्चालन गर्ने, मुलुकी फौजदारी एवं मिलापत्र संहिता, २०७४ को दफा ७३, १३७ (६) र १५५ बमोजिम थुनुवामा रहेका व्यक्तिहरूको निवेदनको सुनुवाइका साथै अरु थुनुवा भएका मुद्दाको पनि सुनुवाइ भइरहेको छ । यसै गरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ गरिरहेको छ ।

अदालतमा भीडभाड हुन नदिन आलोपालो मिलाएर अदालतको काम कारबाही गर्ने, टेलिवर्क वा अन्य तरिकाबाट निवास वा स्टेसनमा रहेर कार्यसम्पादन गर्न मुख्य रजिस्ट्रारले आवश्यक व्यवस्था मिलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्