सोर्सफोर्समा खुम्चिएको सुर्खेतरोड फराकिलो होला त ?

सडक डिभिजनको सूचनालाई अटेर

0
Shares

बाँके ।

नेपालगञ्जको सुर्खेतरोड ४२ मिटरको छ । कतै ३८ मिटर पनि छ । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सुर्खेतरोडलाई फोरलेन बनाइएको थियो । सडकको मापदण्ड ५० मिटरको थियो । विवादमा एडीबीले काम नगर्ने मौकाको फाइदा उठाउँदै टाठाबाठाले ठूलो सोर्सफोर्समा सडकलाई खुम्च्याउन भ्याएका थिए । धेरै घरहरू भत्किने भन्दै खुम्च्याइएको सुर्खेतरोडलाई ५० मिटरको बनाउने कसरत शुरू भएको छ ।

मापदण्डअनुसारको ५० मिटरको सडक बनाउन सडक डिभिजन कार्यालय, नेपालगञ्जले सूचना निकालिसकेको छ । नेपालगञ्जको नाका जमुनाहादेखि कोहलपुरसम्मको २२ किलोमिटरलाई ५० मिटरको बनाउन थालिएको हो ।

सडक डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बीच भागदेखि २५/२५ मिटरको सडक बनाउन लागिपरेको बताउनुभयो । यो २२ किलोमिटरभित्र अतिक्रमणमा ८ सय ६ वटा संरचना रहेका छन् । त्यसमा सरकारी कार्यालय, संघसंस्था, निजी घरहरू छन् । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसँगको समन्वयमा सडक डिभिजन कार्यालयले शुरूमा सरकारी कार्यालयको अतिक्रमण हटाउने तयारी गरेको छ । ‘जमुनाहादेखि कोहलपुरसम्म ८ सय ६ वटा संरचना छन् । त्यसमा १४ वटा सरकारी कार्यालय पर्छन्, हामी त्यसलाई पहिला हटाउँछौं’, सडक डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख एसीले भन्नुभयो– ‘त्यसपछि संघसंस्था, मठमन्दिर हुँदै ७ सय ५० वटा निजी घरलाई भत्काउँछौं ।’

सडकको मापदण्डअनुसार बीच भागदेखि दुवैतिर २५/२५ मिटर सडक र त्यसपछि ६ मिटर छोडेर घरहरू बनाउनुपर्छ । त्यो ६ मिटरलाई सडकले निषेधित क्षेत्र भन्ने गर्दछ । अहिले नै ६ मिटरसमेत खाली गराउने योजना छैन । शुरूमा ५० मिटर खाली गर्ने र सडकको आवश्यकताअनुसार दुवैतिर थप ६/६ मिटर खाली गराउने रणनीति बनाइएको छ ।

एडीबीले ५० मिटरकै फोरलेन बनाउने भनेको थियो । घनाबस्ती रहेकाले धेरै घरहरू भत्किने बहाना गरेर टाठाबाठाले माथिबाट फोर्सफोर्स लगाएर सडकलाई खुम्च्याएका थिए । एडीबीले विवादमा काम नगर्ने भएकाले ४२ मिटरमै सडक बनाइएको थियो । सुर्खेतरोड बनेको एक दशकमा फेरि घरहरू भत्किने भएका छन् । एकपटक घर भत्काएर ४२ मिटरपछि जोडजाड गरेकाहरूलाई फेरि भत्काउनुपर्ने भएको छ ।

सडक डिभिजन कार्यालयले सूचना निकालेर अतिक्रमित भूभाग खाली गर्न भने पनि अहिलेसम्म कसैले अतिक्रमण खाली गरेका छैनन् । यसको अर्थ प्रहरी प्रशासनले बल प्रयोग गर्नुपर्ने देखिएको छ । प्रमुख जिल्ला अधिकारी खत्रीले केही समयमै सडकको मापदण्डअनुसारको अतिक्रमित क्षेत्र खाली गराउने बताउनुभयो ।