सीटीईभीटीको स्थगित परीक्षा फागुन ६ देखि शुरू हुने

0
Shares

काठमाडौं, (नेस) ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कोरोना संक्रमण वृद्धि भएसँगै माघ ११ गते स्थगित गरेको परीक्षा शुरू गर्ने निर्णय गरेको छ । सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले बुधबार सूचना जारी गरी आगामी फागुन ६ गतेदेखि परीक्षा सञ्चालन गर्ने जानकारी गराएको छ । परीक्षा स्थगित गरेको विषयमा विद्यार्थीले आन्दोलन चर्काइरहेको अवस्थामा सीटीईभीटीले रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सीटीईभीटीले परीक्षा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन गर्ने जनाएको छ । सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अप्थाल्मिक र डेन्टल साइन्स, आयुर्वेद, अकुपञ्चर, अकुप्रेसर एन्ड मोक्सिभेसन र फिजियोथेरापी, योगा एण्ड नेचुरोपेथी, फरेस्ट्री, डिप्लोमा इन फार्मेसी, कृषि विषयअन्तर्गत बाली र पशु विज्ञान कार्यक्रमको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित र आंशिक, डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वक्र्स, इन्टरप्रेनरसिप डेभलपमेण्ट कार्यक्रमको पहिलो र दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गरिने जनाएको छ ।

त्यस्तै, डिप्लोमाइन सिभिल इन्जिनियरिङ, अटोमोवाइल, जियोमेटिक्स, इलेक्ट्रिकल इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, होटल मेनेजमेन्ट, ईन्टरप्रेनरसीप डेभलपमेन्ट कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्ड, दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्डका कार्यक्रमहरूको नियमित, आंशिक परीक्षा तथा डिप्लोमा इन बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ कार्यक्रमको तेस्रो सेमेस्टरको नियमित तथा आंशिक परीक्षा फागुन ८ गतेदेखि सञ्चालन गरिने भएको छ । सीटीईभीटीको यो निर्णयसँगै विद्यार्थीको आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।