पाँचदलीय गठबन्धन अझै बलियो भएर जान्छ : नेपाल

0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको ५ दलीय गठबन्धन अझै बलियो भएर जाने बताउनुभएको छ । काठमाडौंको जडिबुटीमा नेकपा एसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले गठबन्धन तोड्न एमाले अध्यक्ष केपी शर्मा ओली लागिरहे पनि गठबन्धन दलहरू बिच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताउनुभयो ।

अध्यक्ष नेपालले गठबन्धन तोड्न र आपसी अविश्वास पैदा गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतबाट खोजिएको छ, तर गठबन्धन अझै बलियो भएर जानेछ, गठबन्धनले नै चुनाब गर्नेछ भन्नुभयो । एमसीसीकाबारेमा एमालेले आफ्नो पार्टीकाविरुद्ध गलत प्रचार गरेको भन्दै उहाँले गठबन्धनविरुद्ध भएको षड्यन्त्रप्रति सचेत भएर अगाडि बढ्नु पर्ने औल्याउनुभयो ।

एमालेमा केपी ओलीको व्यक्तिवाद हाबी अझै बढेको भन्दै उहाँले व्यक्तिवादी चरित्रकै कारण एमाले छाड्दै जाने उहाँको भनाइ छ । कार्यक्रममा एमालेका पूर्व सांसद सुवास कर्माचार्यसहित करिब १५० बढी नेता कार्यकर्ताले पार्टी छाडेर नेकपा समाजवादीमा प्रवेश गरेका छन् । एमाले छाडेर नेकपा एसमा प्रवेश गर्नेहरूलाई अध्यक्ष नेपालले टीका र खादा लगाएर पार्टी प्रवेश गराउनुभयो ।