स्थानीय तहको निर्वाचन मिति तोक्न एमालेको दबाब

0
Shares

भक्तपुर ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गराउन सरकारलाई दबाब दिने भएको छ । बुधबार भक्तपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले तत्काल मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दबाबका कार्यक्रम शुरू गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसअघि जनसंगठनहरूले निर्वाचन मिति तोक्न दबाबमूलक कार्यक्रम गरिरहेको भन्दै एमालेले सरकारले स्थानीय तहको निर्वाचन मिति भोलिसम्म नतोके दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीले नै अब दबाबमूलक कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कारबाही गर्ने भएको छ । सचिवालय बैठकले निर्वाचनमा अन्तर्घात गर्नेहरूको छानबिन गरी कारबाही गर्न निर्देशन दिइएको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो । उहाँका अनुसार बैठकले पार्टी पंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । त्यस्तै प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

महिला, युवा, विद्यार्थी र किसान महासंघ बाहेकका अन्य जनसंगठनको महाधिवेशन प्रक्रिया अघि बढाउने एमाले सचिवालय बैठकले निर्णय गरेको छ । बैठकले पार्टीको नियमावली, जनसंगठनको निर्देशिका पारित गर्नुका साथै सहकारी र स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

उहाँले बैठकले प्रचार विभाग र स्कुल विभाग पनि गठन गरेको बताउँदै चैत महिनाभित्र पार्टी सदस्यता वितरण र नवीकरण गरिसक्ने निर्णय गरेको जानकारी दिनुभयो । पार्टी सदस्यतासम्बन्धी केन्द्रमा अभिलेख राख्न प्रत्येक जिल्लामा आइटी विज्ञ राख्ने एमालेले जनाएको छ ।

सचिवालय बैठकले केही दिनअघि पार्टी छोडेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई निष्कासन गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । रौतहट र पर्सामा जिल्ला अधिवेशनका क्रममा देखिएको विवाद समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी प्रदान छ ।

‘जेठ ४ मै निर्वाचन गर्नुपर्छ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ मै गर्नुपर्ने बताउनुभएको छ । बुधबार भक्तपुरमा पार्टीको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारलाई देशको माया र चिन्ता नभएकाले देशलाई ओरालो यात्रामा पुर्याएको बताउनुभयो । ‘पाँच दलीय गठबन्धन सरकारले देशलाई ओरालो लगाएको छ, विनाशतर्फ, आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेलेको छ’ –ओलीको आरोप थियो ।

जनताप्रति गठबन्धन सरकार अनुत्तरदायी बन्दै शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थासमेत डामाडोल बनाएको ओलीले बताउनुभयो । उहाँले सत्ता गठबन्धनलाई देशको माया नभएको भन्दै संविधान कार्यान्वयन गर्न छोडेर सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाउनुभयो ।

ओलीले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै कठिन ढंगले प्राप्त गरेको उक्त खोप हरायो भन्नु हास्यास्पद र गम्भीर रहेको बताउनुभयो । यस्ता कुरामा अन्य देशमा हेर्ने हो भने मन्त्रीहरूले राजीनामा गर्नुपर्ने अवस्था रहेको तथ्य उल्लेख गर्नुभयो ।