ज्यानको बाजी राखेर तुइन चढ्दै कर्णालीवासी

सरकारी योजना कागजमै सीमित

0
Shares

हुम्ला ।

कर्णाली नदीमा पुल नबन्दा मुगुको सोरू गाउँपालिका र हुम्लाको अदनचुली गाउँपालिका बासिन्दा जोखिम मोलेर तुइनबाट नदी वारपार गर्न बाध्य छन् । सरकारले ६ वर्ष पहिले नै देशबाट तुइन हटाउने घोषणा गरे पनि अधिकांश ठाउँमा पुल नबन्दा तुइनकै भरमा छन् नागरिक ।

सोरू र अदनचुली गाउँपालिकाको श्रीनगरगाउँका बासिन्दा समयमै पुल नबन्दा ज्यानको बाजी राखेर तुइन तर्न बाध्य भएको अदनचुली गाउँपालिकाका स्थानीय मोती महतारा बताउनुहुन्छ । दोमुखमा पुल नबन्दा समस्या भएको उहाँको भनाइ छ ।

दुई जिल्लाको अन्तरगाउँपालिका जोड्ने नदी कर्णाली नै हो । नदीको दोमुखमा नदी तर्न उनीहरुसँग अर्को विकल्प छैन । मुगु जिल्लाको सोरु गाउँपालिका–३ र हुम्लाको अदनचुली गाउँपालिका–१ को कल्खेमा बन्न लागेको पुल ठेकेदारले निर्माण नगर्दा वारपार गर्न समस्या भएको अर्का स्थानीय दीपक महतराको कथन छ ।

सोरू–३ को धइनकोट, १० को जैसीवाडा, धैन, दई, ११ कोट, तल्लीवाडा, रोकायावाडा र हुम्लाको अदनचुली गाउँपालिका–१, २ र ३ नम्बर वडाको कल्खे, फटेरावाडा, भण्डारीवाडा, थापागाउँ, रोकायावडा, महतरावाडालगायतका स्थानका बासिन्दा तुइन तर्न बाध्य छन् ।

‘कर्णाली नदीको दोमुखमा झोलुंगे पुल भएको भए यसरी जोखिमपूर्ण यात्रा गर्ने अवस्था नै रहने थिएन । तुइन विस्थापित गर्ने सरकारले घोषणा गरेको ५ वर्ष भइसक्यो, तर काम सञ्चालन भएकै छैन’, कल्खेगाउँका मक्क महतारा भन्नुहुन्छ– ‘दैनिक उपभोग्य वस्तुका मालसमान पनि तुइनबाट नै तराउने गरिएको छ । तुइनमा चढेर तर्न महिला र बालबालिकालाई कठिन हुने गरेको छ ।’

गाउँका मानिस बिरामी पर्दा तुइनबाट तार्न थप समस्या हुने गरेको छ । गाउँका बासिन्दालाई दैनिक उपभोग्य मालसामान ओसार–पसार गर्न, औषधि उपचार गर्न समेत सास्ती खेप्नुपरेको छ ।