दुई हप्ताको बीचमा तीनपटक हिमपात

0
Shares

दोलखा ।

प्रसिद्ध पर्यटकीय गन्तव्य कालिञ्चोकमा मंगलबार फेरि हिमपात भएको छ । मौसममा आएको परिर्वतनसँगै चिसो बढेपछि कालिञ्चोक क्षेत्रमा बाक्लो हिमपात भएको हो । दुई हप्ताको बीचमा तीनपटक हिमपात भएपछि कालिञ्चोक क्षेत्र सेताम्य भएको छ ।

मंगलबार दिउँसो दुई बजेबाट हिमपात शुरु भएको कालिञ्चोक केवलकारका टेक्निसियन सुशान्त ढुंगाना केसीले बताउनुभयो । एक हप्ताअघिको हिउँमा रमाउन आएका पर्यटक पुनः हिमपात शुरु भएपछि चिसोको पर्वाह नै नगरी हिउँमा रमाइरहेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेका कालिञ्चोक क्षेत्रमा माघ महिनामा मात्र तीनपटक हिमपात भइसकेको छ । दुई हप्ताको बीचमा तीनपटक हिमपात भएपछि कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेशथुम्का, गैरीलगायतका क्षेत्र सेताम्य भएको कुरीमा सञ्चालित होटल सुनपातिका विमल ओझाले बताउनुभयो । हिमपातमा सधैं पर्यटक भरिभराउ हुने कालिञ्चोकमा कोरोना संक्रमण बढ्दै गएकाले खासै पर्यटक नदेखिएको उहााको कथन छ ।

हिमपात हुने पुस/माघमा दैनिक २/३ हजार पर्यटक आउने गर्थे, अहिले त शुक्रबार/शनिबार पनि २ हजार पर्यटक पुग्न मुस्किल हुन थालेको छ ।’ –होटल सञ्चालक ओझा भन्नुहुन्छ । पछिल्लो समय कालिञ्चोकमा नेपालको तराई तथा काठमाडौं उपत्यकासँगै भारतको विभिन्न ठाउँबाट ठूलो संख्यामा पर्यटक आउन थालेका थिए । पुनः कोरोना संक्रमण बढ्न थालेपछि पर्यटक घटेका हुन् ।

कालिञ्चोकको कुरीमा झण्डै ६० वटा साना तथा ठूला होटल रहेका छन् । अहिले सबै होटलमा गरी मुस्किलले ५ सय पर्यटक रहेको कुरीका होटल व्यवसायीहरु बताउँछन् ।