धुलिखेल अस्पतालमा ‘मातृ शिशु’ स्याहार पार्क

0
Shares

काभ्रे ।

धुलिखेल अस्पतालले बर्थिङ्ग सेन्टर अगाडी खेर गएको जमिनको उपयोग गर्दै ‘थेरापी गार्डेन’ निर्माण गरेको छ । गार्डेनको उद्घाटन सुत्केरी सजना श्रेष्ठ, दिपा भुजेल र धनकुमारी थापाले गर्नु भएको छ ।

‘बिरामी मात्रै हैन, विरामीलाई भेट्न आउने र नियमित बिरामीसँग बस्ने व्यक्तिलाई समेत स्वस्थ राखिरहन थेरापी गार्डेन महत्त्वपूर्ण हुनेछ’–अस्पताल प्रमुख डा. रामकण्ठ माकजुले भन्नुभयो–‘यो गार्डेन गर्भवति र सुत्केरी महिला मात्रै नभई बच्चा र सुत्केरी आमालाई समेत उपयोगी बन्नेछ ।’

मातृ शिशु स्याहार पार्कका रूपमा समेत उक्त गार्डेनलाई निर्माण कार्य सुरु गरिएको छ । अस्पताल स्थापनाको केही वर्ष पछि अस्पतालले फोहोर पानी प्रशोधन केन्द्र स्थापना गरेको थियो । अहिले पार्क निर्माण भइरहेको क्षेत्र त्यही फोहोर पानी प्रशोधन गरिरहेको क्षेत्र हो ।

धेरै वर्ष पछि अस्पतालले खेर गइरहेको फोहोर पानी प्रशोधन केन्द्रको जमिनलाई गार्डेनका रूपमा विकास गरेको हो । थेरापी गार्डेन उद्घाटन कार्यक्रममा स्त्री रोग विशेषज्ञ प्रो. डा. सुमन ताम्राकार, प्रो. डा. आभा श्रेष्ठ, इन्जिनियर राजाराम पराजुली, पुनमराज भण्डारी, दिपा केसी लगायतले गार्डेनको महत्त्व र आवश्यकताका बारेमा जानकारी गराउनु भएको थियो ।

पार्कको अघि अस्पतालको सुत्केरी महिलाहरूको उपचार गराउने भवन छ । जसलाई अस्पतालले बर्थिङ सेन्टरका रूपमा विकास गरिरहेको छ । गर्भवति भई सुत्केरी हुन आएका महिलाहरुलाई केही समय थेरापी गराउन, सुत्केरी भइसकेका महिला र बच्चाहरूलाई तेल लगाउन तथा बिरामी कुरुवाहरूलाई समेत थेरापी गर्न उपयुक्त हुने गरी प्राकृतिक रूपकै थेरापी पार्क निर्माण गरिएको हो ।

३० लाख रुपैयाँ खर्च हुने उक्त पार्कमा चराचुरुङ्गीको स्वर, खुल्ला स्थानमा प्राप्त हुने अक्सिजन तथा खोला बगेको पानीको आवाज लगायतका प्राकृतिक सौन्दर्य सहितका संरचनाहरू निर्माण हुनेछन् । पार्क निर्माण पछि भूक्षय रोक्ने, ढल व्यवस्थापनमा सहजता हुने र फोहोर पानी प्रशोधन सहित खेर गएको जमिन संरक्षण हुनेछ । थेरापी पार्कको क्षेत्रफल २ रोपनी भन्दा धेरै छ ।