बनेपाको नालामा दश अवतारसहितको ब्रम्हा मन्दिर

समुदायकै रकम १ करोड ५ लाख लगानी

0
Shares

काभ्रे ।

समुदाय स्तरबाट ठुलो धनराशि संकलन गरी सुरु गरिएको महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्यको दोस्रो चरणको कार्य सुरु भएको छ । पहिलो चरणमा महादेव मन्दिरका साथै अन्य संरचना निर्माण सकेको समितिले दोस्रो चरणको कार्य सुरु गरेको छ । दोस्रो चरणमा नेपालमै पहिलो पटक दश अवतार सहितको ब्रम्हाको प्रतिमा र मन्दिर निर्माण सुरु गरेको छ ।

‘नेपालमै पहिलो पटक बनेपा नगरपालिका वडा नम्बर ४ शेरा नजिकै महादेव खोलासँगै दश अवतार सहितको ब्रम्हायणी मन्दिर र ब्रम्हाको प्रतिमा स्थापना गर्न सुरु गरिएको छ’– समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले भन्नुभयो–‘१ करोड ४२ लाख लागत स्टमेटमा निर्माण व्यवसायीहरुको प्रतिस्पर्धामा १ करोड ५ लाखमा निर्माण सम्झौता गरिएको छ ।’ उक्त क्षेत्रमा ब्रम्हाको प्रतिमा, मन्दिर र सिंढी निर्माण लगायतका संरचनाहरु तयार हुँदै छन् । समितिले संकलन गरेको रकमबाट निर्माण कार्य सुरु गरिएको हो । तेश्रो चरणमा भ्यु टाओर लगायतका अन्य संरचनाहरु तयार हुनेछन् । उक्त क्षेत्रको गौरवको योजनाका रूपमा लिएको उक्त क्षेत्रलाई धार्मिक रूपले प्रचार प्रचार गरी आन्तरिक पर्यटन वृद्धि गर्ने समितिको योजना रहेको अध्यक्ष पुरुषोत्तम सापकोटाले बताउनु भयो ।

२०७१ साल मसिंर १४ गते तत्कालीन समितिले बृहत्त रुद्रायाग शैव महायज्ञबाट बचत भएको रकमका बारेमा निर्णय गरी संकलित रकमबाट महादेवखोला परिसरमा मन्दिर, घाट र अन्य संरचना निर्माण गर्ने निर्णय गरेको थियो । श्रीधर पराजुली संयोजक र प्रकाशचन्द्र श्रेष्ठ सचिव रहेको समितिले मन्दिर घाट स्थलको जग्गा सिमाकंन तथा खोला व्यवस्थापन र निर्माण कार्य संचालन गरेको थियो । मूल व्यवस्थापन समितिमा रामप्रसाद सापकोटा अध्यक्ष, पुरुषोत्तम सापकोटा, ध्रुवप्रसाद दाहाल, यादवकृष्ण श्रेष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो भने मणिप्रसाद सापकोटा सचिव, अर्जुनप्रसाद बजगाईँ कोषाध्यक्ष र प्रकाशचन्द्र श्रेष्ठ सह सचिव हुनुहुन्थ्यो ।

उक्त समितिका नाममा साबिक अरनिको विकास बैक हालको सेन्चुरी बैकमा रहेको ६७ लाख २८ हजार ३ सय ५५, सिड नेपाल, डाईनामिक सहकारी तथा अन्य क्षेत्रमा समेत गरी बचत रकम नयाँ गठन गरिएको समितिलाई हस्तान्तरण गरिएको छ । नयाँ समितिमा अध्यक्ष पुरुषोत्तम सापकोटा, सचिव श्याम सापकोटा र कोषाध्यक्ष सिता पराजुली रहनु भएको छ । समितिले संकलित रकम, पहिलो चरण र दोस्रो चरणको निर्माण कार्यमा भएको खर्चका बारेमा जानकारी गराउने बताएको छ । महादेवखोला परिसरको निर्माणका लागि डिपिआर तयार गरिएको समितिले जानकारी दिएको छ । यज्ञको सबै खर्च कटाएर समितिले १ करोड ३० लाख ६४ हजार ७ सय १७ रुपैया बचत गरेको थियो ।

समितिको बैठकमा वडा अध्यक्षहरू कृष्णप्रसाद दाहाल, श्यामसुन्दर श्रेष्ठ लगायतले नालाको गौरव योजना समयमै सम्पन्न गर्न स्थानीय तहले समन्वयकारी भूमिका खेल्ने बताउनु भयो । समितिका सचिव मणिप्रसाद सापकोटाले जुन उद्देश्यका साथ यज्ञ आयोजना गरिएको थियो त्यही उद्देश्य प्राप्तिका लागि समितिले निरन्तर काम गर्नु पर्ने बताउनु भयो ।

सब्द/तस्बिर : मोतीराम तिमल्सिना