कालिन्चोकमा हिमपात,पर्यटन आकर्षित


चिरञ्जीवी मास्के, दोलखा ।

प्रसिद्ध पर्यटकीय गन्तव्य कालिन्चोकमा मंगलवार दिउँसोबाट हिमपात सुरु भएको । मौसममा आएको परिर्वतनसंगै चिसो बढेपछि कालिन्चोक क्षेत्रमा हिमपात सुरु भएको कालिन्चोक केवलकारका टेक्निसियन सुशान्त ढुङ्गाना केसीले बताए ।

मंगलवार दिउँसो दुई बजेबाट सुरु भएको हिमपात निरन्तर जारी रहेको उनले बताए । एक हप्ता अघिको हिउँमा रमाउन आएका पर्यटक पुनः हिमपात सुरु भएपछि चिसोको पर्वाहनै नगरी हिउँमा रमाई रहेको स्थानीय होटल व्यवसायीहरू बताउँछन् ।

३८४२ मिटरको उँचाइमा रहेका कालिन्चोक क्षेत्रमा माघ महिनामा मात्र तीन पटक हिमपात भई सकेको छ । दुई हप्ताको बिचमा तीन पटक हिमपात भएपछि कालिन्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरी लगायत सबैतिर सेताम्य भएको स्थानीय होटल व्यवसायीहरू बताउँछन् । हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिन्चोकमा कोरोना संक्रमण बढ्दै गएकोले खासै पर्यटक नदेखिएको  कुरीमा सञ्चालित होटल सुनपातिका विमल ओझाले बताए ।

हिमपात हुने पुस-माघमा दैनिक दुई-तीन हजार पर्यटक आउने गर्थे, अहिले त शुक्रवार-शनिवार पनि दुई हजार पर्यटक पुग्न मुस्किल हुन थालेको छ – होटल सञ्चालक ओझाले भने । पछिल्लो समय कालिन्चोकमा नेपालको तराई तथा काठमाडौँ उपत्यकासंगै भारतको विभिन्न ठाउँबाट समेत ठुलो संख्यामा पर्यटक आउन थालेकोमा पुनः कोरोना संक्रमण  बढ्न थालेपछि पर्यटक घटेको ओझाले बताए ।

कालिन्चोकको कुरीमा झन्डै ६० वटा साना तथा ठुला होटलहरु रहेका छन् । अहिले सबै होटलमा गरी मुस्किलले पाँच सय पर्यटक रहेको कुरीका होटल व्यवसायीहरू बताउँछन् ।