फलेवासका एकल पुरुषलाई पनि मासिक भत्ता

0
Shares

पर्वत ।

पर्वत जिल्लाको फलेवास नगरपालिकाले एकल पुरुषलाई भत्ता दिन थालेको छ । नगरपालिकाले नगरभित्रका विधुर पुरुष तथा एकल महिलालाई मासिकरूपमा भत्ता दिन थालेको हो ।

फलेवासले नगर भित्रका ५० वर्षदेखि ७० वर्ष उमेर समूहभित्रका विधुर पुरुष र अविवाहित एकल महिला वा पुरुष हुनुपर्ने छ । विधुर पुरुष (एकल) लाई मासिक १ हजारका दरले वितरण गर्न थालेको फलेवास नगरपालिका योजना अधिकृत देवीप्रसाद तिमिल्सिनाले जानाउनुभयो । नगरपालिकाले दिएको जानकारीअनुसार तीन तहका कुनै पनि सरकारी कोषबाट तलब, भत्ता, सुविधा, पेन्सन वा अन्य सामाजिक सुरक्षा नपाउने नागरिकले मात्रा भत्ता पाउनेछन् । त्यसका लागि फलेवास नगरपालिकाको स्थायी नागरिक हुनुपर्नेछ ।

भत्ता पाउने लाभग्राहीको नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता शुरुआत भएमा त्यस्तो व्यक्तिको विधुर पुरुष तथा एकल महिला वा पुरुष सामाजिक संरक्षण प्रोत्साहन भत्ता स्वतः हट्नेछ । पुरुषको हकमा विधुर वा अविवाहित, विवाह नगरेको र महिलाको हकमा विवाह नभएको वा श्रीमान् बेपत्ता भएका महिलाले मात्रा भत्ता पाउनेछन् । फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार नगरपालिकाबाट भत्ता पाउने विधुर पुरुष तथा एकल महिलाहरुको संख्या ८५ रहेको छ । जसमध्ये विधुर पुरुषको संख्या ७० र एकल महिलाको संख्या १५ रहेको छ । नगरभित्रका निम्न आर्थिक अवस्था भएका एकल पुरुष तथा महिलालाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले भत्ता उपलव्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

नगरपालिकाले घुम्ती सेवामार्फत उनीहरुलाई एकल भत्ता उपलब्ध गराएको हो । फलेवास नगरपालिकाले वडा नम्बर २ थापाठानामा विधुर पुरुष तथा एकल महिला सामजिक संरक्षण प्रोत्साहन भत्तासम्बन्धी अभिमुखीकरण तथा परिचयपत्र वितरण कार्यक्रम गरेको थियो । नगरपालिकाले बिहीबार कार्कीनेटा, थापाठाना, शंकरपोखरी र भँगरा एकल पुरुष तथा महिलालाई भत्ता र परिचयपत्र उपलब्ध गराएको हो ।

नगर प्रमुख पदमपाणि शर्माले नगरभित्रका विधुर पुरुष तथा एकल महिला वा पुरुषलाई सामाजिक संरक्षण प्रोत्साहन भत्ता वितरण गर्न शुरुआत गरेको बताउनुभयो । उहाँले पहिलो चरणमा व्यक्तिलाई नगद र अर्कोपटक बैंकिङ प्रणलीमार्फत भत्ता उपलब्ध गराइने बताउनुभयो ।