भ्रष्टाचार आरोपमा स्याङ्जाका वडाध्यक्ष र सदस्य निलम्बित


न्यज अफ नेपाल, कास्की ।

नागरिकता भ्रष्टाचार आरोपमा स्याङ्जाको भीरकोट नगरपालिका ९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र सदस्य कुलबहादुर गुरुङ निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध पुस २९ मा मुद्दा दर्ता गराएपछि उनीहरू निलम्बित भएका हुन् ।

तत्कालीन प्रशासकीय अधिकृत यादवराज शर्माको नेतृत्वमा २०७४ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको नागरिकता टोली घुम्ती शिविर लिएर भीरकोट ९ मा पुगेको थियो । स्थानीयलाई घरघरमै नागरिकता बाँडेको प्रशासन कार्यालयका टोलीलाई जानकारी नदिई गुरुङद्वयले स्थानीय एक महिलालाई नागरिकता बनाउन रकम लाग्ने बताउँदै १ लाख ३५ हजार रुपैयाँ घूस लिएको आरोप छ । स्थानीयले २०७५ माघ २२ मा वडाध्यक्ष र सदस्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी दिएका थिए ।

मुद्दा दर्ता भएको दिनदेखि नै वडाध्यक्ष र सदस्य निलम्बित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख कोषहरि निरौलाले जानकारी दिए ।  आरोपित वडाध्यक्ष गुरुङले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झूटो विवरणका आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएको आयोगले पुष्टि गरेको छ ।