बर्दियामा ट्रिपर दुर्घटना दुई जनाको मृत्यु, तीन घाइते

0
Shares

न्युज अफ नेपाल, बर्दिया ।

बर्दियाको बढैयाताल गाउँपालिका – ३ सतपतिया स्थित भित्री सडक खण्डमा सुर्खेतबाट बर्दिया तर्फ आउँदै गरेको भे १ क १४९५ नम्बरको ट्रिपर अनियन्त्रित भएर दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ३ का सोम बहादुर बिक र सोही ठाउँका रामु थारु रहेका छन् । बिकको घटनास्थलमा मृत्यु भएको हो भने थारुको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बढैयाताल – ३ का प्रमिला चौधरी, सोही ठाउँका चमेलिया थारु र ट्रिपरका सहचालक सुर्खेत वीरेन्द्रनगर – ११ का लक्ष्मण सुनार रहेका छन् । घाइतेको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रिपरले घर अगाडी आगो तापी बसिरहेकाहरूलाई ठक्कर दिएको बताइएको छ । चालक सुर्खेत वीरेन्द्रनगर – ११ का दुर्गा बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।