माघभर बाजुराका विद्यालय बन्द रहने

0
Shares

बाजुरा ।

माघ मसान्तसम्म बाजुरामा भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठक बसी यस्तो निर्णय गरिएको हो ।

गुह मन्त्रालयको निर्देशनअनुसार सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको अध्यक्षतामा बठैक बसेको थियो । पछिल्लो समय कोरोना तीव्ररूपमा फैलिएको दृष्टिगत गरी यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसीसी) बाजुराले यस्तो निणय गरेको प्रजिअ पौडेलले बताउनुभयो । डीसीएमसीसीको निर्णयानुसार विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम, गोष्ठी लगाएका कार्यहरु माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ ।

शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइको विधि अपनाई सञ्चालन गर्नुपर्ने भनी जिल्लाका ९ वटै स्थानीय तहलाई अनुरोध गरिएको छ । साथै विद्यालयको शिक्षण क्रियाकलाप बन्द भए तापनि शिक्षकहरु अनिवार्य विद्यालयमा हाजिर हुनुपर्ने निर्णय गरिएको कोभिड संकट व्यवस्थापन केन्द्र बाजुराले जनाएको छ ।

आइतबारमात्र बढिमालिका नगरपालिकाकाले माघ २३ गतेदेखि नगरपालिकाभित्रका सबै विद्यालय खुलाउने निर्णय गरेको थियो । कोभिड–१९ का कारण बाजुरामा अन्य समुदायको तुलनामा विद्यालय क्याम्पस अध्ययनरत विद्यार्थी सबैभन्दा बढी प्रभावित भएका छन् ।