संसदीय समितिमा एमालेको जित

0
Shares

हेटौंडा ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी नदिइएका कारण सोमबार भएको वागमती प्रदेशसभाअन्तर्गत दुई संसदीय समितिले सभापति छनोट गर्ने मतदानमा विपक्षी नेकपा एमालेले जित हात पारेको छ । निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो ।

प्रदेशसभाअन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनोट गर्न निर्वाचन भएको थियो । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो । एमालेको बहुमत रहेका कारण सत्तारूढ गठबन्धनले उम्मेदवार दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन । अर्थ र शिक्षा समितिको बैठकमा नेकपा एमालेको १२ जना सांसदमात्र उपस्थित भएपछि उम्मेदवारलाई विजयी घोषणा गरिएको थियो । उहाँहरुले शपथसमेत ग्रहण गरिसक्नुभएको छ ।

दुवै समितिमा एमालेका १२–१२ जना सदस्य छन् । वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एक जना र शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ सदस्यमध्ये एक जना सभापति चयन हुनुभएको छ । अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेपछि उक्त पद रिक्त थियो ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल मन्त्री नियुक्त भएका कारण उक्त पद पनि रिक्त थियो ।