डडेल्धुरामा ‘स्मार्ट लकडाउन’ शुरू

0
Shares

डडेल्धुरा ।

कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरा जिल्लामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सोमबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन शुरू गरिएको जनाएको छ । कोरोना महामारीको संक्रमण रोक्न स्मार्ट लकडाउन शुरू गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोगगरी स्मार्ट लकडाउन गरिएको हो ।

जिल्लामा सञ्चालनमा रहेका नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, पटके हाट बजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म सञ्चालन नगर्न स्थानीय प्रशासनद्वारा जारी आदेशमा भनिएको छ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ सञ्चालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जोशीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने नेपाल सकारकारको पुस ३० गतेको आदेशबमोजिम गर्न प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ । अन्य गतिविधिहरूका सम्बन्धमा पुस २८ गते जारी आदेशबमोजिम हुने जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।