जापानद्वारा खोप चिस्याउने सामग्री प्रदान

0
Shares

काठमाडौं, (नेस) ।

जापानले कोरोना संक्रमण महामारीमा खोप अभियानलाई सफल तुल्याउन नेपाललाई खोप चिस्याउने प्रणाली सशक्त पार्न राष्ट्रसंघीय बालकोष युनिसेफमार्फत विभिन्न सामग्री सहयोगस्वरूप प्रदान गरेको छ ।

काठमाडौंस्थित जापानी दूतावास र युनिसेफ कार्यालयले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी ३८ वटा सौर्य ऊर्जाबाट चल्ने रिफ्रिजेरेटर, ९ वटा वाक–इन–कुलर, एक हजार ९ वटा लामो दूरीमा खोप बोक्ने भाँडो र ५३ वटा खोप चिस्याउने बाकस (कोल्ड बक्स) सहयोग गरेको जानकारी दिएको छ ।

विज्ञप्तिमा अघिल्लो वर्षदेखि नै उक्त सामग्रीहरू नेपाल भित्रिन थालेकोमा गत आइतबार प्रतिबद्धताअनुरूपको सबै सामग्री नेपाल भित्रिसकेको जनाएको छ । विज्ञप्तिमा नेपालले अहिले नयाँ भेरियन्टसहितको कोरोनाको तेस्रो लहर सामना गरिरहेकाले खोप अभियान नेपाल सरकारको उच्च प्राथमिकतामा परेको उल्लेख गर्दै जापानी राजदूत किकुता युताकाले जापानको यो सहयोगले खोप अभियानलाई सफल तुल्याउन सहयोग पुग्ने बताउनुभएको छ ।

उहाँले खोप अभियानमा खोपको उचित भण्डारण महत्वपूर्ण भएको जिकिर गर्दै खोप भण्डारणको क्षमता अभिवृद्धि र देशभर खोप वितरणलाई सहज तुल्याउन जापानी सहयोगको उद्देश्य रहेको बताउनुभयो । विज्ञप्तिमा उहाँले वाक–इन–कुलर ढुवानी योग्य भएको र सौर्य ऊर्जाबाट चल्ने रेफ्रिजेरेटरले विभिन्न क्षेत्रमा भण्डारणमा देखिएको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जापानले कोरोना महामारीविरुद्धको लडाईंमा सहयोग गर्दै नेपाललाई अहिलेसम्म खोप, एम्बुलेन्स, स्वास्थ्य उपकरण तथा खोप चिस्याउने उपकरणलगायतको सामग्री सहयोग गरिसकेको छ ।