ललितपुरमा २० गतेबाट फाइजरको दोस्रो मात्रा

0
Shares

ललितपुर, (नेस) ।

ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले १२–१७ उमेर समूहका विद्यार्थी लक्षित फाइजर खोप अभियान २० गतेबाट शुरू गर्ने भएको छ । यसअघि २४ गतेबाट शुरू हुने भनिएको अभियान ४ दिनअघि बाटै शुरू हुन लागेको हो । ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख सतिस विष्टले माइनस ६० देखि ९० डिग्रीसम्मको चिस्यानमा रहेको खोपलाई ३१ दिनसम्म भण्डार गर्नुपर्ने र सो खोपको चिस्यान अवधि सकिनै लागेकाले २४ गते अगावै अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उहाँले सो खोपलाई प्लस २ देखि ८ डिग्रीसम्म ल्याएर प्रयोग गर्नुपर्ने बताउनुभयो । चिस्यान केन्द्रबाट प्रयोगमा ल्याइसकेपछि खोपलाई पुनः चिस्यान केन्द्रमा राख्न नमिल्ने भएकाले २४ गते अगावै लगाइसक्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो– ‘७१ हजारलाई लक्षित गरी अभियान चलाएका थियांै, ५२ हजार मात्रा मात्र प्रयोगमा आयो, अब बाँकी रहेको फाइजर खोप मात्रा चाँडै सक्नुपर्ने अवस्था आएको हो ।’

यसैका आधारमा ललितपुर महानगरपालिकाले २० र महालक्ष्मी नगरपालिकाले २१ गतेबाट दोस्रो मात्राको फाइजर खोप अभियान शुरू गर्न लागेको हो । जिल्लाले २० देखि २५ गतेसम्म अभियान सञ्चालन गर्नेछ ।

ललितपुर महानगरपालिकाका शिक्षा विभाग प्रमुख महेन्द्र खत्रीले २७ गते खोप लगाएकालाई २० गतेबाट २१ दिन पुग्ने भएकाले सोहीअनुसार विद्यालयलाई जानकारी गराइएको बताउनुभयो । ललितपुरले २० देखि २५ गतेसम्म विद्यालय खोल्न आग्रह गरिसकेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस २७ गतेदेखि फाइजर खोप अभियान शुरू गरेको थियो ।