मोरङका चारवटा कुखुरा फार्ममा बर्डफ्लु

संक्रमित क्षेत्र ४५ दिनका लागि सिल गरियो

0
Shares

विराटनगर ।

मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो । बर्डफ्लु पुष्टि भएका फर्महरूलाई सिल गर्ने कार्यसमेत अघि बढेको जनाइएको छ । बर्डफ्लु देखिएका कारण कुखुरा नष्ट गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । प्रजिअ दाहालका अनुसार पछिल्लोपटक कटहरी गाउँपालिका–७ स्थित पद्मश्री बहुद्देश्यीय कृषि फार्ममा रहेका २ हजार ब्रोइलरमध्ये ७ सय वटा कुखुरा मरेको र नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएकाले सोमबार बाँकी कुखुरा नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

त्यसै गरी ग्रामथान गाउँपालिका–१ स्थित १ हजार २० वटा बोइलर कुखुरा रहेको श्रीगणेश कृषि फार्ममा पनि बर्डफ्लु पुष्टि भएपछि नष्ट गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । केही दिनअघि मात्रै गोपाल साहले सञ्चालन गरेको ग्रामथानस्थित श्रीगणेश कृषि फार्ममा रहेका १ हजार लोकल र १ हजार ब्रोइलर कुखुरामध्ये एक महिना उमेरका २ सयवटा लोकल कुखुरामा मरेका थिए । मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । उक्त फार्ममा रहेका बाँकी कुखुरा सोमबार नष्ट गर्ने निर्णय भएको जनाइएको छ ।

बैठकको निर्णयपछि बर्डफ्लु फैलिएको फार्ममा रहेका पंक्षीजन्य वस्तु नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको भेटनरी अस्पताल विराटनगरका डा. सुशीलकुमार अधिकारीले जानकारी दिनुभयो । ग्रामथान–१ खुनियाकट्टामा रहेको महेन्द्र खड्काले सञ्चालन गरेको काब्या कृषि फार्ममा रहेका करिब ३ हजार ५ सय लेयर्स मरेपछि नमूना परीक्षणका लागि विराटनगरस्थित पशुपंक्षी रोग प्रयोगशालामा पठाइएको थियो । त्यहाँ नमुना जाँच गर्दा बर्डफ्लु पोजेटिभ पुष्टि भएपछि पुनः नमुनाहरूलाई काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो ।

काठमाडौंस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालाले समेत बर्डफ्लु पुष्टि गरेपछि शुक्रबार काव्या कृषि फार्ममा रहेका बाँकी १ हजार ६ सय ५० वटा कुखुरा, २० कार्टुन अण्डा, ९ सय केजी दाना, ४० बन्डल अण्डा राख्ने क्रेटसमेत नष्ट गरिएको ग्रामथान गाउँपालिकाका भेटनरी प्राविधिक अञ्चलराज नेपालले जानकारी दिनुभयो । फार्म क्षेत्रमा बर्डफ्लुको थप संक्रमण नहोस् भनेर निर्मलीकरण गरी ४५ दिनका लागि सिलसमेत गरिएको जनाइएको छ ।

त्यसै गरी बुढीगंगा गाउँपालिका–५ स्थित किशोर सरदारले सञ्चालन गरेको रास एग्रोभेट फार्ममा रहेका परेवासमेत मरेपछि त्यसको नमुना जाँच गर्दा बर्डफ्लु पुष्टि भएको जनाइएको छ । बर्डफ्लु पुष्टि भएपछि फार्ममा रहेका २५ जोर परेवा र २ सय ५० केजी दाना नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाभित्रका केही फार्महरूमा बर्डफ्लु पुष्टि भएपछि प्रजिअ दाहालको अध्यक्षतामा सोमबार बसेको जिल्ला बर्डफ्लु नियन्त्रण समितिको बैठकले फार्महरूमासमेत निगरानी गर्न अन्य स्थानीय तहहरूलाईसमेत पत्राचार गर्ने निर्णय गरेको छ । साथै, छिमेकी जिल्लाहरूमा समेत आवश्यक सतर्कता अपनाउन आवश्यक समन्वयको काम भइरहेको जनाइएको छ ।
बैठकले बर्डफ्लुका कारण नष्ट गरिएका पंक्षीजन्य सामग्रीहरूको नियमानुसार क्षतिपूर्ति र सामग्री व्यवस्थापनका लागि प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पशु सेवा विभागसँग रकम माग गर्ने समेत निर्णय गरेको जनाइएको छ ।