गृहमन्त्री खाणद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि काम गर्न निर्देशन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड-१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन्।

गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।

गृहमन्त्री खाणले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड-१९ को प्रभाव, शित लहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरण कसरी हुन्छ भन्नेबारेमा जानकारी लिएको प्रहरी प्रमुखहरूले जानकारी दिए।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले गृहमन्त्री खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शित लहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको उनले बताए।

‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता वितरणको अवस्था र कोभिड-१९को प्रहरीमा र नागरिकमा प्रभावबारे जानकारी लिएकाे ,’ उपरीक्षक तिमिल्सिनाले भने।तराईका जिल्लाका प्रहरी प्रमुखहरूसँग मन्त्री खाणले सिके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनबारे पनि जानकारी लिएका छन्। सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको स्थिति र सिके राउतको आन्दोलनको अवस्थाबारे जानकारी लिएको बताएका छन्।

‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, सिके राउतको आन्दोलन, कोभिड-१९को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीले जानकारी लिएकाे,’ उपरीक्षक काफ्लेले भने।झापाका प्रहरी प्रमुख उपरीक्षक विश्वमणि पोखरेलले प्रहरीमा र समग्र जिल्लामा कोभिड-१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, जाडोमा न्यानो कपडाबारे जानकारी लिएको बताए।