पैसा नहुँदा औषधोपचारमा समस्या !

0
Shares

मुगु ।

मुगु अस्पतालमा उपचार हुन नसकेपछि मंसिरको तेस्रो हप्ता सोरू गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीले ६७ वर्षीया श्रीमती हाँसुलाई उपचार गर्न काठमाडौं लैजानुभएको थियो । हाँसु विगत पाँच वर्षदेखि दमको रोगले थलिनुभएको छ ।

ऋण, सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलोपटक औषधि उपचार गर्न ललितपुरको पाटन अस्पताल पुगेका शाही यतिखेर आर्थिक समस्यामा परेका छन् । ‘ऋण, सापट गरी ल्याएको पैसा काठमाडौँ जाँदा बाटोमै सकिएपछि शाहीलाई श्रीमतीको उपचार गर्न सास्ती भएको हो ।

‘डाक्टरले यो औषधि किन्नुपर्यो, त्यो औषधि किन्नुपर्यो भन्छन्’, शाहीले फोनमा कुरा गर्दै भन्नुभयो– ‘ऋण, सापट गरी ल्याएको पैसा सकिइसक्यो, अब कसरी श्रीमतीको औषधोपचार गर्यौं ?’ अस्पतालको शैय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको र बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको उहाँ सुनाउनुहुन्छ ।

बिरामी श्रीमती बोकेर उनी गत मंसिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगन्ज पुगेका थिए । त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराएका थिए । काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौं पुगेका हुन् । उनका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए । पाटन अस्पतालको तीन तलामाथि आईसीयूमा शाहीकी श्रीमतीको उपचार भइरहेको छ ।

बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहेका छन् । काठमाडौंमै लामो समयदेखि ज्यालादारी काम गर्दै आएका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा रहेका छन् । तर, उनको पनि शाहीकै जस्तै अवस्था छ ।

आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुगेका छन् । ‘ऋण काढ्ने कहींकतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै आएकाले उपचार खर्च जुटाउन सम्भव छैन ।’ –बृजन भन्नुहुन्छ । श्रीमती र आफ्नो सामाजिक सुरक्षाभत्ता जम्मा गरेर शाही काठमाडौं उपचार गर्न गएका हुन् । ‘ऋण दिने कोही भए पनि लिने थिएँ’, सुकसुकाउँदै उहाँ भन्नुहुन्छ– ‘तर, पत्याउने कोही छैनन् ।’