पर्वतमा अनिश्चित्कालीन निषेधाज्ञा

0
Shares

पर्वत ।

पर्वतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको दर उच्च हुँदा अनिश्चित्कालका लागि निषेधाज्ञा जारी गरिएको छ । संक्रमण दर तीव्ररूपमा फैलिएपछि निषेधाज्ञा थप गरिएको हो । पर्वतमा हाल ५ सय २८ जना संक्रिय संक्रमित रहेका छन् ।

यो संख्या हालसम्मकै उच्च रहेको स्वस्थ्य कार्यालय पर्वतले जनाएको छ । संक्रमितमध्ये ५ सय २७ जना होम आइसुलेसनमा रहेका छन् भने १ जना पर्वत अस्पतालमको आइसोलेसनमा छन् । संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ १६ देखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी आदेशमा जिल्लाका सबै शैक्षिक संस्था सिनेमाहल, पार्टी प्यालेस, जिमखाना, स्पोर्ट क्लब, ब्युटिपार्लर, सैलुन, अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ । सार्वजनिक यातयात सञ्चालनका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न आदेश जारी भएको छ भने मठ–मन्दिरमा नित्यपूजाबाहेक अन्य क्रियाकलाप बन्द गर्न आदेशमा भनिएको छ । आदेशलाई अवज्ञा गरिएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको छ । जिल्लामा संक्रमण तीव्र गतिमा बढे पनि सर्वसाधारणले संक्रमणप्रति बेवास्ता गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी खत्रीले सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।

कोभिड खोप लगाउन छुटेका व्यक्तिलाई माघ १६ गतेदेखि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय परिसरमा नै अस्थायी खोप केन्द्र स्थापना गरी कोभिड खोप लगाउन लागेको समेत उहाँले जानकारी दिनुभयो । पर्वतमा हालसम्म ४ हजार २ सय ४७ जनाको पीसीआर र ११ हजार ७ सय १२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७ सय ५ जनामा पोजेटिभ देखिएको थियो । जसमा ३ हजार १ सय १० जना निको भएका छन् भने ६७ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।