डडेल्धुरा जिल्ला अदालतको सेवा सङ्कुचन

0
Shares

डडेल्धुरा ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै डडेल्धुरा जिल्ला अदालतले सेवा सङकुचन गरेको छ । डडेल्धुरा जिल्ला अदालतले आइतबार सूचना जारी गर्दै अदालतमा कार्यरत चार जना कर्मचारीमा कोरोना संक्रमण भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा सङ्कुचन गरिएको जनाएको हो ।

बन्दी प्रत्यक्षीकरण, १५५ नं. सँग सम्बन्धित निवेदन र कोभिड–१९ सँग सम्बन्धित रिट निवेदन तथा निवेदनहरु दर्ता र सुनवाइ गर्ने, म्याद थप, पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जी स्वीकृति र अनुमति प्रदान गर्ने, सरकारी फौजदारी मुद्दाहरुको अभियोगपत्र दर्ता, बयान र थुनछेक आदेश गर्ने, घरेलु हिंसासम्बन्धी मुद्दाहरुको फिराद दर्ता, डिसमिस, मुद्दा फिर्ता, तामेली, मिलापत्र, कसूर ठहर भई सजाय निर्धारण हुन बाँकी मुद्दाहरु सुनवाइ गर्ने, हदम्याद गुज्रन सक्ने फिराद तथा उजुरीहरु र प्रतिउत्तर मात्र दर्ता गर्ने गरी अन्य नियमित सेवाहरु सङ्कुचन गरिएको डडेल्धुरा जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।

यसै गरी अर्को सूचना प्रकाशन नभएसम्म सोमबारदेखि पेसीमा चढेका मुद्दाहरु स्वतः स्थगित हुने र तारेख नगुज्रने डडेल्धुरा जिल्ला अदालतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । कर्मचारीमा कोरोना पुष्टि भएसँगै बैतडी र बझाङ जिल्ला अदालतले पनि सेवा स्थगन गरिसकेका छन् । कर्मचारीमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशमा रहेका थुपै्र सरकारी कार्यालयहरुले हाल सेवा स्थगन गरेका छन् ।