प्रमुख प्रशासकीय अधिकृतविहीन बन्दै स्थानीय तह

0
Shares

ताप्लेजुङ ।

ताप्लेजुङको ६ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । कर्मचारी सुरुवा भएर जाने र नयाँ नआउने भएकाले अधिकृतविहीन बन्दै गएको हो । फक्ताङ्लुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा भएसँगै उहाँले निमित्तका रूपमा गाउँपालिकाको जिम्मेवारी सम्हाल्नुभएको हो ।

मिक्खोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललितनारायण यादवले पनि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवार सम्हालेको दुई महिना भयो । भट्टराई र यादव मात्र होइन ताप्लेजुङमा नौ स्थानीय तहमध्ये ६ स्थानीय तहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा स्थानीय तह सञ्चालन हुँदै आएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासकीय कामकाजमा समस्या हुने गरेको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइली बताउनुहुन्छ ।

मेरिङ्देन गाउँपालिका दुई महिनादेखि प्रमुख प्रशासकीयविहीन छ । पाथीभरा याङ्वरक र सिदिङ्वा गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । सिरिजंगा गाउँपालिका गत साता प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएसँगै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नीतिनियम तथा विभिन्न कानुन निर्माण गर्न समस्या हुने गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताउनुभयो । ‘अहिले स्वास्थ्य शाखा प्रमुखलाई निमित्त दिएको छ । स्वास्थ्य शाखा प्रमुखसँग स्वास्थ्यसम्बन्धी ज्ञान छ तर प्रशासनसम्बन्धी पर्याप्त ज्ञान छैन’, उहाँ भन्नुहुन्छ– ‘त्यसैले गाउँपालिकाको प्रशानमा समस्या हुने गरेको छ ।’ योजना तर्जुमा, नीति–नियम गाउँपालिकाको बैठक सञ्चालन, सर्वसाधरणको विभिन्न सिफारिसका साथै आर्थिक प्रशासनसमेत समस्या हुने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासकीय काम–कारबाही एकदमै सुस्त हुने गरेको नाम नबताउने भन्दै मिक्वाखोला गाउँपालिकामा कार्यरत एक कर्मचारी बताउँछन् ।

वडा सचिव पनि छैनन्
६ वटा वडा रहेको गाउँपालिकामा कुनै पनि वडामा वडा सचिव नभएपछि ताप्लेजुङको सिरिजंगा गाउँ कार्यपालिकाले सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाउने गत साता निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले लोकसेवा आयोगबाट स्थायी कर्मचारी सिफारिस भई नआउञ्जेलसम्मका लागि सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवका रूपमा खटाइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विभिन्न सेवा समूहका ७ जना कर्मचारीको एकैपटक सरुवा भएका सिरिजंगा गाउँपालिका ६ वडा सचिवविहीन बनेको एक कर्मचारीले बताएका छन् ।

वडा सचिवको समेत जिम्मेवारी सम्हालिरहेका कर्मचारीको पनि सरुवा भएको छ । सो ठाउँमा पदपूर्ति हुन नसकी सेवाग्राहीको कामकारबाहीमा समेत प्रत्यक्ष प्रभाव परेको र सेवाग्राहीले सास्ती व्यहोर्नुपरेकाले गाउँ कार्यपालिकाको बैठक बसी सम्बन्धित वडाका सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई वडा सचिवको जिम्मेवारी दिने निर्णय भएको गाउँपालिकाका एक कर्मचारी बताउँछन् ।

यता, ७ वटा वडा रहेको फक्ताङ्लुङ गाउँपालिकामा तीन जनामात्र वडा सचिव रहेको फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रकाश रिजालले बताउनुभयो । वडा सचिव नहुँदा स्वास्थ्य क्षेत्रका अनमीलाई वडा सचिवको जिम्मेवारी दिएको उहाँको कथन छ । मिक्वाखोला गाउँपालिका गत महिना वडा सचिव सरुवा भएर गएसँगै पालिकामा कार्यरत अन्य कर्मचारीलाई वडा सचिव जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।