मिडिया एक्सन नेपाल मिडिया फ्रिडम नेटवर्कको सदस्यमा चयन

0
Shares

काठमाडौं ।

विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन भएको छ ।

मिडिया अधिकार उल्लङ्घनका घटनामा दण्डहीनताको समस्यालाई नेपाल, दक्षिण एसिया, दक्षिणपूर्व एसिया र विश्वका धेरै देशले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइएको छ । मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडियाले स्वतन्त्र र निर्भिक रूपले काम गर्ने वातावरण बनाउन विश्वका सरोकारवालाहरूले मिलेर मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको विषयलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले नेटवर्कमा मिडिया एक्सन नेपालको चयनबारे जानकारी दिँदै मिडिया एक्सन नेपाल व्यापक नागरिक समाज र मिडिया अधिकारको परिप्रेक्ष्य प्रस्तुत गर्दै कन्सल्टेटिभ नेटवर्कमार्फत मिडिया फ्रिडम कोलिसनलाई सहयोग प्रदान गर्न तयार रहेको बताउनुभएको हो ।

जनवरी २०२० मा स्थापना गरिएको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क प्रेस स्वतन्त्रता र मिडिया विकासका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरूको समूह हो । यसले मिडिया फ्रिडम कोलिसनको काममा सल्लाह दिन्छ र राज्यको हस्तक्षेप आवश्यक छ भन्ने विश्वास गरिएका केसहरूको छनोटलाई सहजीकरण गर्दछ ।

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कले प्रेस स्वतन्त्रता विशेष जोखिममा रहेका देशहरूको विषय र पत्रकार वा मिडिया आउटलेटहरू खतरामा रहेका मामिलाहरू मिडिया फ्रिडम कोलिसनलाई कारबाहीका लागि प्रस्तुत गर्ने तथा मिडिया स्वतन्त्रता र मिडिया विकासभित्र वर्तमान र भविष्यका मुद्दाहरूमा सल्लाह दिने काम गर्दछ ।

२२ ओटा सदस्यहरू रहेको यस नेटवर्कमा मिडिया एक्सन नेपालसँगै आर्टिकल १९, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट, डि डब्लु एकेडेमी, फ्री प्रेस अनलिमिटेड, आइफेक्स, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेसनल मिडिया सपोर्ट, इन्टरन्युज युरोप, पाकिस्तान प्रेस फाउन्डेसन, पब्लिक मिडिया एलायन्स, रिपोर्टरस विदाउट फ्रन्टियर्स, कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, र द गार्जियनलगायतका संस्थाहरू रहेका छन् । मिडिया एक्सन नेपाल यस अन्तर्राष्ट्रिय नेटवर्कमा चयन हुने नेपालबाट पहिलो र दक्षिण एसिया क्षेत्रबाट प्रतिनिधित्व गर्ने दोस्रो संस्था हो ।