जलाधार पहिचान



विश्वको सभ्यता नदी किनारबाटै सुरु भएको पाइन्छ । जहाँ जलाधार छ त्यहीं नै मानव जीवन सम्भव हुन्छ । विकासका लागि पूर्वाधार भनिने सडक, बिजुली, पानी, कच्चा सामग्रीआदि जस्तै जीवको उत्पत्तिदेखि समृद्धिसम्म नदी वा जलाधारको महत्वपूर्ण हात रहन्छ । पानीको अभावमा जीवजगत् सम्भव छैन । त्यसमाथि जहाँ स्वच्छ पानी छ, त्यहीं स्वस्थ जीवन पनि सम्भव छ । पानी प्रदूषित भएको ठाउँमा अरु पूर्वाधानहरु जतिसुकै बलिया भएपनि जनजीवन स्वस्थकर हुनसक्तैन । जीवलाई चाहिने प्राणवायु र पानी जहाँ उपयुक्त छ, त्यहाँ अन्य समस्या सहायक हुनजान्छन् । नेपालको राजधानीवासीका लागि महत्वपूर्ण जलाधारहरु वागमती नदीलगायतका उपत्यकाका नदी र खोलाहरु हुन् ।

काठमाडौंको नदी तथा खोला प्रदूषित हुने क्रम बढ्दैगएको छ । काठमाडौं उपत्यकाकाको सभ्यता र पहिचान बोकेका नदीनाला र खोलाको पहिचान समाप्त हुने क्रममा पुगेको छ । बागमती नदी, धोवी खोला, विष्णुमती खोला टुकुचामाथिको प्रदूषणसँगै अतिक्रम हुने क्रम पनि तीव्र गतिमा छ । नदी तथा खोलाको बहाव क्षेत्र मिचेर भौतिक संरचना निर्माण भइरहेका छन् । कुनै बेला कलकल पानी बग्ने खोला तथा नदीमा अहिले दूषित पदार्थ मात्र बहने गरेको छ । सरकारले खोला तथा नदी अतिक्रमण हुने क्रम बढेसँगै संरक्षणको कामलाई पनि अघि बढाएको छ । तर सरकारले अघि सारेको कार्यक्रम प्रभावकारी रुपमा लागू हुन नसक्नु र नागरिकले खोलामा फोहोर फ्याक्ने क्रमलाई नरोकेको कारण अपेक्षाकृत रुपमा सुधारकाने काम हुन सकिरहेको छैन । खोला तथा नदीलाई सफा बनाउने दायित्व र कर्तव्यबोध स्थानीयमा नहुँदा आज सम्यता र पहिचान बनाएका कतिपय खोलाको अस्तित्व नै समाप्त हुने क्रममा पुगेको छ भने भएका खोला तथा नदीको पनि प्रदूषित अवस्थामा रहेका छन् । सरकारले काठमाडौंका खोला तथा नदीलाई ढलमुक्त बनाउने कार्यक्रम अघि सारे पनि सरकारको योजनालाई चुनौती दिदै खोलामा सीधै ढल मिसाउने क्रम पनि रोकिएको छैन । कुनै पनि कार्यक्रम सञ्चालन भएपछि त्यसलाई कार्यान्वयन गर्न दृढ इच्छा शक्ति चाहिन्छ । इच्छा शक्तिविना कुनै पनि योजना पूरा हुन सक्दैनन् । नीति निर्माणका तहमा देखिएका समस्या समाधान गर्नदेखि लिएर आर्थिक पक्षलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने हो भने उपत्यकाभित्र रहेका खोला तथा नदीलाई पुरानै अवस्थामा फर्काउन असम्भव छैन । भएको सम्पदा जोगाउदै आधुनिक प्रविधिको प्रयोग गरेर उपत्यकाभित्र भएका नदी तथा खोलालाई सफा बनाउन सकिन्छ । त्यसको लागि दीर्घकालीन योजना बनाउन जरुरी छ । बागमती नदीलाई सफा बनाएर पुरानै लयमा फर्काउन प्रयास भइरहेको पनि छ । बागमती नदीको सौन्दर्यीकरण गरेर नदीको सभ्यता मात्र होइन आन्तरिक पर्यटकको समेत प्रर्वद्धन गर्न सकिन्छ ।

नेपालको सभ्यता र पहिचान बोकेका खोला तथा नदीको संरक्षण र सम्र्वद्धनमा विशेष चासोको साथ कार्यक्रम अघि बढाउन आवश्यक छ । सरकारले अघिसारेका सभ्यता जागाउने कार्यक्रममा नागरिकको पनि उत्तिकै साथ र सहयोगको खाँचो हुन्छ । पछिल्लो समय स्थानीय जनताले यस दिशामा अपेक्षाअनुसार भूमिका खेल्न नसकेको देखिएको छ, जो राम्रो होइन ।

प्रतिक्रिया दिनुहोस्