दुर्गमको पीडा : मुस्ताङका स्थानीय तहमा दरबन्दी छ कर्मचारी छैनन्

0
Shares

पर्वत ।

मुस्ताङका स्थानीय तहमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यसम्पादन असहज बन्न थालेको छ । मुस्ताङमा खटिएका कर्मचारीहरू पायक र सुगम जिल्लामा सरुवा हुँदै जान थालेपछि कर्मचारीको अभाव भएको हो ।

सरकारले मुस्ताङका स्थानीय तहमा जनसंख्या कम भएको भन्दै कर्मचारी संख्या पनि कम तोकेको छ । भएका कर्मचारी पनि धमाधम सरुवा र काज मिलाएर हिँडेपछि दैनिक कार्य सम्पादनसमेत प्रभावित भइरहेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ३८ जनाको दरबन्दी कायम तर अहिले जम्मा १० जना मात्र कर्मचारी छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समेत मन्त्रालयमा सरुवा भइसकेको छ । गापाले कुल दरबन्दीको १७ जना बढी कर्मचारी खाली रहेको जनाएको छ । गाउँपालिकका ५ वडामध्ये २ वडामा मात्र वडा सचिवको व्यवस्थापन गरेको छ । कर्मचारी अभाव हुँदा एउटै व्यक्तिले ३/४ वटा शाखा हेर्नुपर्ने बाध्यता रहेको छ भने वडाहरूमा पनि समस्या उस्तै रहेको छ । काम गर्न असहज भएपछि नेपाल सरकारले तोकेको स्थायी दरबन्दीबाहेक शाखाहरूमा करारमा कर्मचारी भर्ना गरेको छ ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार १८ जना स्थायी कर्मचारी राख्न पाउने व्यवस्था ग¥यो । तर, कुल दरबन्दीमध्ये ५ जना कर्मचारी रिक्त रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशासनतर्फ ३ जना र नासु रिक्त रहेको छ । लोघेकरमा अहिले १३ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । लोघेकरमा कार्यरत कर्मचारीमध्ये केहीलाई वडा कार्यालयमा व्यवस्थापन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुनको भनाइ छ । लोघेकर गापामा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त छ ।

यस्तै, उपल्लो मुस्ताङको लोमान्थाङ गापामा पनि कर्मचारी कर्मचारीको समस्या देखिएको छ । गापाका प्रशासन प्रमुख विकास केसीका अनुसार लोमान्थाङ गापाको २१ दरबन्दीमा १३ जना र वडा कार्यालयतर्फ १५ दरबन्दीमा ६ जना मात्र रहेका छन् । गापाको ५ वडामध्ये २ वडामा मात्र वडा सचिव रहेका छन् ।

मुस्ताङको तल्लो स्थानीय तहमा थासाङमा पनि कर्मचारीको अभाव खट्किएको छ । थासाङका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदीमा पनि हालै मात्र पालिकामा बहाली हुनुभएको छ । थासाङमा कुल दरबन्दीमध्ये ९ जना कर्मचारी दरबन्दी रिक्त रहेको जनाएका छन् । घरपझोङ गापामा २१ जना कर्मचारी दरबन्दी छ । जसमध्ये पछिल्लो समय धमाधम कर्मचारीहरू सरुवा हुँदै अन्य पालिकामा सरुवा भई गएको गापाका कर्मचारी केदारसिंह थापाले बताउनुभयो ।