एमसीसी पारित हुने अवस्था छैन : खनाल

0
Shares

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी पारित हुने अवस्था नरहेको बताएका छन् । एमसीसी बारे अहिले पाँच दलीय गठबन्धनभित्र रहेको असहमतिका विषयमा खनालसँगको छोटो कुराकानी यहाँ प्रस्तुत छ :

एमसीसीको बारेमा सत्ता गठबन्धनभित्र किन विवाद भइरहेको छ ?
एमसीसीको विषय अहिले पाँच दलीय गठबन्धनभित्र रहेको एउटा असहमतिको विषय हो । यसमा पाँच दलभित्र पनि सहमति छैन । राष्ट्रिय रूपमा पनि सहमति छैन । यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढनुपर्छ । त्यसकारण तत्काल एमसीसी अगाडि बढ्ने अवस्था म देख्दिनँ ।

प्रधानमन्त्रीले शेरबहादुर देउवाले चालु संसद्बाट अगाडि बढाउन चाहनुभएको छ भनिन्छ नि ?
प्रधानमन्त्रीजीले त अलि अघिदेखि नै एमसीसीको विषयमा निर्णय गरौं भनेर भन्दै आउनुभएको छ । त्यो उहाँको व्यक्तिगत विचार होला । तर, पाँच दलीय गठबन्धनको विचार होइन । पाँच दलीय गठबन्धनले छलफल गरेर के गर्ने भन्ने विषयमा एउटा सहमतिको टुंगोमा नपुगीकन यो विषय अगाडि बढने सम्भावना नै छैन ।

एमसीसीको विषयमा सहमति जुटाउन गठन भएको कार्यदलले प्रधानमन्त्रीलाई के सुझाव दियो त ?
कार्यदलको काम सकियो । हामीले अध्ययन गरेर हाम्रो कुरा प्रधानमन्त्रीलाई भनिसक्यौं ।

एमसीसीलाई लिएर गठबन्धन नै संकटमा पर्ने अवस्था सिर्जना भएको हो ?
अनेक विषयमा हाम्रा सहमतिहरू छन् । असहमतिका आधारमा गठबन्धन बनेकै होइन । सहमतिका विषयमा गठबन्धन बनेको हो । त्यसकारण असहमतिको विषय अहिले तत्काल त्यसरी उठाउनु पनि हुँदैन र पाइँदैन पनि । सहमतिका साथ अगाडि बढ्ने भएकाले गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ ।

एमसीसी पारित नगराउने योजनाले संसद् बैठक स्थगित गरिएको भन्ने विषय के हो ?
संसद्को बैठक स्थगित हुनुको कारण देशमा कोभिड संक्रमण तीव्र रूपमा फैलनु हो । २५ जनाभन्दा बढी भेला हुन नपाउने सरकारको निर्णयअनुसार १० दिन बैठक स्थगित गरिएको हो ।