जनसंख्या कति चाहिन्छ ?



नेपाललाई जनसंख्या कति चाहिन्छ ? केही वर्ष अघिसम्म जनसंख्या वृद्धिसँग डराएर परिवारनियोजन कार्यक्रमलाई सरकारले राष्ट्रिय मूलधारको स्थानमा मात्र राखेको थिएन, दुईभन्दा अधिक बालबालिका जन्माउने अभिभावकलाई असभ्यजस्तै ठानिन्थ्यो । तर बिस्तारै अहिले एक सन्तानमा चित्त बुझाउने अभिभावकको संख्या ह्वात्तै बढेको छ ।

विश्वका विकसित मुलुकमा जनसंख्या कमी समस्याको विषय रहेको छ, उनीहरु नेपालजस्ता अल्पविकसित मुलुकबाट डिभी, पिआर, ग्रिनकार्ड आदिका नाममा नागरिकहरु भित्र्याइरहेका छन् । मुलुकको विकासका लागि एक निश्चित परिमाणको जनशक्ति चाहिन्छ नै । राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । त्यसमध्ये पुरूष १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छन् भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । यो संख्या २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो । अर्थात् नेपालको पछिल्लो दश वर्षमा प्रतिवर्ष जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत देखियो जो १९९८ साल पछिको सबैभन्दा न्यून वृद्धिदर हो । अमेरिकामा करिब ०.६० प्रतिशत र बेलालत करिब ०.५० प्रतिशत जनसंख्या वृद्धिको अवस्थामा छन् । विश्वमा यस्ता मुलुक पनि छन् जसको वृद्धिदर ऋणात्मक छ– हरेक वर्ष कुल जनसंख्या घटिरहेको देखिन्छ । एशियाकै चीन जो अधिक जनसंख्याका कारण स्रोत–साधन जुटाउन नसकेर एक सन्तानको नीति लागु गर्न बाध्य थियो, आज उसको जनसंख्या वृद्धिदर चाहिनेभन्दा पनि न्यून भएकाले दुई सन्तानमा आएको छ । उसको वृद्धिदर ०.३० छ भने अर्को छिमेकी भारतको ०.९७ प्रतिशत छ । यही दर कायम रह्यो भने विश्वमा सबैभन्दा अधिक जनसंख्या हुने मुलुकमा चीन नभएर भारतको नाम आउने छ । सामान्यतः जहाँ बढी जनसंख्या त्यहाँ न्यून विकास भएको देखिन्छ । जनसंख्याको आधारमा विकास योजना ल्याउनुपर्ने भएकोले नेपालले १९६८ सालदेखि जनगणना गर्न सुरु गर्यो । त्यसपछिका २० वर्षमा नेपालको जनसंख्या लगातार घट्यो । नेपालमा पहिलो पटक जनगणना भएको दुई वर्षपछि पहिलो विश्वयुद्ध सुरू भएको थियो । त्यतिबेला बिफरको महामारी पनि चलेकाले जनसंख्या घटेको विश्लेषण गरिन्छ । बच्चा जन्माउने उमेर समूहका युवा–युवतीको ठूलो संख्या विदेशमा रहनु, आधुनिक दम्पतीले धेरै बच्चा जन्माउन नचाहनु, बच्चालाई दिने समय आफ्नो करियरमा खर्च गर्नु, शिक्षा र रोजगारीमा महिलाको पहुँच बढ्दै गएपछि बच्चा जन्माउने कि नजन्माउने भन्ने निर्णय गर्नेमा उनीहरूको भूमिका बढ्नु जनसंख्या दर न्यून हुनुका प्रमुख कारण छन् । परिवार नियोजनबारे बढेको जनचेतना, परिवार नियोजनका साधनहरूको उपलब्धता र घट्दै गएको शिशु मृत्युदरले पनि जन्मदर कम हुनुमा भूमिका खेलेको छ ।

जनसंख्या वृद्धिदर कम हुनु भनेको केही दशकपछि काम गर्नसक्ने समूहको संख्या कम हुँदै जानु र वृद्धवृद्धाको संख्या बढ्दै जानु हो । जनशक्ति अभाव हुँदा कुनै पनि मुलुकको विकासमा असर पर्छ । अहिले युरोपका विभिन्न मुलुक र जापानलगायत देशले यस्तै समस्या भोगिरहेका छन् । नेपालले समयमै यस दिशामा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्