घर पाएपछि २१ परिवार दंग

विपन्न परिवारको सुरक्षा र जीविकोपार्जनका लागि स्थानीय सरकार सारथी बन्यो

0
Shares

बाँके ।

रहिस हल्वाईलाई सधैं घरको चिन्ता थियो । अर्काको घरमा बसेर रहिसले मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका थिए । प्रेम चौधरीको अवस्था पनि रहिसको जस्तै थियो । रहिस र प्रेमजस्ता २१ परिवार यतिबेला खुशीले गद्गद् छन् । गाउँपालिकाले दुई कोठा, एक भान्छा र एउटा बरन्डा भएको चिटिक्कको घर बनाएर दिएपछि रहिस र प्रेमजस्ता विपन्न परिवारमा खुसीयाली छाएको हो ।

रहिस भन्नुुहुन्छ– ‘घर पाइएला भन्ने सोचेका पनि थिएनौं । पक्की घरमा बस्न पाइयो । दिनभर मजदुरी गरे पनि साँझ आफ्नै घरमा सुत्न पाइने भयो ।’ तराई समृद्धि कार्यक्रमअन्तर्गत बाँकेको खजुरा गाउँपालिकाले वडा नं. ३ मा विपन्नका लागि सामूहिक आवास बनाइदिएको हो ।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले १ करोड ७६ लाखको लागतमा सामूहिक आवासमा २१ वटा घर बनेको बताउनुभयो । ‘घर नभएका विपन्नलाई बसोबासको व्यवस्था मिलाएका छौं, अध्यक्ष कक्षपतिले भन्नुभयो– ‘विपन्न परिवारको सुरक्षा र जीविकोपार्जनका लागि स्थानीय सरकार सारथी बनिरहेको छ ।’

एक विघा जमिनमा २१ वटा घर बनेका छन् । १४ घरपरिवार घरमा बस्न शुरू गरिसकेका छन् । अरु आउने तरखरमा छन् । गाउँपालिकाले पालिकाभित्र रहेका घरविहीन विपन्नको निवेदन माग गरेको थियो । त्यही निवेदनका आधारमा घरबास नभएका व्यक्तिलाई सामूहिक आवासमा राखिएको छ ।

सामूहिक आवासमा बस्ने व्यक्तिले आफ्नो घरबास भएपछि त्यहाँ छोड्नु पर्छ । आफ्नो घरबास नहुँदासम्म उसले चाहेको जतिबेला बस्न पाउँछ । गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले पालिकाले बनाइदिएको घर बस्ने व्यक्तिको नाममा नहुने जानकारी दिनुभयो । ‘घरबास उनीहरूको नाममा हुँदैन । तर, उनीहरू आफ्नो घरबास नबनाउदासम्म बस्न पाउँछन्’, योजना अधिकृत पौडेलले भन्नुभयो– ‘सामूहिक आवासमा बसेका व्यक्तिलाई पालिकाले रोजगारीको अवसर पनि दिन्छ ।’

खजुरा गाउँपालिकाले अघिल्लो वर्ष सुकुम्बासीलाई २० वटा घर बनाइदिएको थियो । यसपालि सुकुम्बासीलाई नभई घर नै नभएका व्यक्तिका लागि सामूहिक आवास बनाएको छ । गाउँपालिकामा रहेका घरविहीन मानिसलाई सामूहिक आवासमा राख्ने र उसले सकेसम्म पालिकाभित्र र नभए अन्यत्र मजदुरी गरे पनि साँझमा सुरक्षित तरिकाले बस्न पाउने व्यवस्था मिलाइएको छ । सामूहिक आवासको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको छ ।