गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : फागुन ९ गते क्यालिब्रेसन फ्लाइट



बुटवल, (नेस) ।

उद्घाटनको प्रतीक्षामा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट फागुन ९ गतेको लागि मिति तय गरिएको छ । शनिबार भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोदकुमार यादवसहित प्राधिकरणका उच्च अधिकारीहरूको सहभागितामा मिति तय गरिएको हो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बुद्ध जयन्ती अगाडि भैरहवामा कुनै पनि हालतमा ठूला जहाजको उडान हुने बताउनुभयो ।

उहाँले बुद्ध जयन्तीका दिन आउने पाहुनाहरू गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने दाबी गर्नुभयो । क्यालिब्रेसन फ्लाईटलगत्तै नेपाल एयरलाइन्सको ठूलो विमानबाट विमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन वा न्यूनतम ४२ दिनपछि विमानस्थलमा नियमित उडानहरू गरिने आलेले जनाउनुभयो ।

एरो थाई नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले अहिले एरोथाइका प्राविधिकहरू भैरहवा आएर ग्राउन्ड चेकको काम गरिरहेको र ४/५ दिनमा सो काम सकिएपछि मौसम हेरेर हवाईजहाजलाई नेपाल ल्याउने बताउनुभयो । लामो समयदेखि निर्माणको चरणमा रहेको भैरहवाको विमानस्थल निर्माण सम्पन्नसँगै अन्तर्राष्ट्रिय उडान भर्न शुरू गरेपछि यस क्षेत्रको आर्थिक कायापलट हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्