स्थानीय निर्वाचन जेठमै गर्ने सत्ता गठबन्धनमा सहमति

0
Shares

काठमाडौं ।

आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन हुने भएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठकले जेठ मसान्तभित्र नै स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णयसँग अब स्थानीय तहको चुनाव हुने निश्चित भएको हो । गठबन्धनको निर्णयसँगै सरकारले निर्वाचन आयोगका पदाधिकारीहरूसँग परामर्श गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।

शनिबार पाँचदलीय उच्चस्तरीय संयन्त्रको बैठकले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिए निर्णय गरेको गरेको हो । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले संविधानअनुसार स्थानीय तहको निर्वाचन जेठ मसान्तभित्र नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको थियो । सरकारका प्रवक्ता एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई जेठभित्र नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको बताउनुभयो । बैठकले संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्ने तयारी गर्न पनि सुझाव दिएको बताउँदै कार्कीले यसअघि तीन चरणमा भएको स्थानीय निर्वाचनलाई समेत मध्यनजर गर्दै संविधानसँग बाझिएका कानुनलाई मिलाएर सरकारले जेठभित्र निर्वाचन सम्पन्न गर्ने बताउनुभयो ।

शनिबार बिहान पनि सत्तारूढ गठबन्धनका शीर्ष नेताबीच भएको बैठकले संसदको भन्दा पहिले नै स्थानीय चुनाव गराउनु उपयुक्त हुने विषयमा सहमति जुटेको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरेर केही समयपछि सार्ने गठबन्धन दलका नेताको प्रस्तावमा चौथतर्फी विरोध भएपछि अन्ततः सत्ता गठबन्धनमा दल जेठ मसान्तभित्र नै चुनाव गर्न तयार भएका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा रहे पनि अन्य दल केही समय पछि सारेर निर्वाचन गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए । तर, उक्त प्रस्तावमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, निर्वाचन आयोग, संविधानविद्लगायतले असहमति जनाएपछि सत्ता गठबन्धन जेठभित्र नै निर्वाचन गर्न सहमत भएका छन् । बैठकमा कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।

यसैबीच, शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाबीच भएको भेटमा राष्ट्रपति भण्डारीले चुनाव नसार्न लिखित रूपमा नै आग्रह गर्नुभएको थियो । राष्ट्रपतिले स्थानीय निर्वाचनबारे लिखित रूपमै धारणा राखेको र त्यही पत्र प्रधानमन्त्रीलाई देउवालाई दिएसँगै शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त पत्रको फोटोकपी बाँडेर छलफल भएको बताइएको छ ।

‘जेठको पहिलो साता निर्वाचन’
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारले गृहकार्य अगाडि बढाएसँगै निर्वाचन आयोगले जेठको पहिलो साता चुनावको मिति घोषणा गर्न सुझाव दिने गरी गृहकार्य अगाडि बढाएको छ ।

सरकारले निर्वाचन आयोगका पदाधिकारीहरूको परामर्श गरेर मात्र मिति घोषणा गर्नेछ । यसअघि निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । आयोगको सुझावमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेठको पहिलो साता स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सुझाव दिने तयारी भएको नेपाल समाचारपत्रलाई बताउनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय तहको निर्वाचन हुने पक्का भएको छ, आयोगले मितिको विषयमा आन्तरिक तयारी गरेर प्रधानमन्त्रीलाई सुझाव दिन्छ ।’ यसअघि निर्वाचन आयोगले पुस ७ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी वैशाख १४ गते पहिलो चरण र वैशाख २२ गते दोस्रो गरी स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको थियो । आयोगले माघ पहिलो साता निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गरे पनि सरकारले माघको तेस्रो साता निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।