सबल, समृद्ध, पूर्वाधारयुक्त जिल्ला निर्माणका लागि एमाले काभ्रेले बनायो यस्तो खाका


मोतीराम तिमल्सिना, काभ्रे । 

नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिबेशनले सबल, समृद्ध, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको पूर्वाधारयुक्त जिल्ला निर्माण गर्ने योजना पास गरेको छ । एमालेको धुलिखेलमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन सँगै जिल्ला निर्माणमा खाका तयार गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो ।

समृद्ध काभ्रेली नमुना काभ्रेको अवधारणालाई मूर्तरुप प्रदान गर्न विगतमा गरेको पहलकदमीहरुलाई निरन्तरतादिँदै आगामी दिनमा पूर्वाधार विकास, औद्योगिक, कृषि, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन लगायतका क्षेत्रको विकासका लागि योजना निर्माण गरेका छौंं’–एमाले अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘यस अघि छैटाै जिल्ला अधिबेशनले पास गरेका योजनाहरुलाई हामी सत्तामा पुग्दा कार्यान्वयन गरेका छौं जसका कारण काभ्रेमा अरबांै बजेट तिनै योजनाहरुमा विनियोजन भएको छ ।

जिल्लामा आगामी ५ वर्ष भित्र १००० किमी सडक कालोपत्रे गर्ने, काभ्रे उपत्यकालाई राजधानीको विस्तारित तर योजनाबद्ध नयाँ केन्द्रकोरुपमा विकास गर्ने, वनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने,भक्तपुर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथमिकतामा राख्ने, पाँचखाल नगरपालिका भित्र रहेको झिगुखोला करिडोरको निर्माण गर्ने, मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्ने,नमोबुद्ध, रोशी, पनौती लगायत स्थानका सम्भाब्य करिडोर क्षेत्रमा ब्यवस्थित पूर्वाधार सहितकोबस्तिब्यवस्थापन गर्ने, डाँडापारी, कोशिपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरुको सडक र पुर्वाधारको विकासगर्ने, जिल्लाका विभिन्न स्थानमा आवश्यक पुलहरुको सर्भे गरी निर्माण गर्न, जिल्लामा ५ हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने योजना वनाएको छ ।

त्यस्तै एक पालिका एक विशिष्टकृत विकासका लागि प्राथमिकतामा राख्ने योजना अनुसार हरेक पालिकालाई विशेष पहिचानयुक्त पालिका वनाउने । पाँचखाललाई कृषि तथा औद्योगिककेन्द्र, वनेपालाई आधुनिक ब्यवशायीक केन्द्र, पनौतीलाई साँस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेललाई पर्यटन शिक्षा स्वास्थ्य र साँस्कृतिक केन्द्र, नमोबुद्धलाई धार्मिक साँस्कृतिक पर्यटन र औद्योगिक केन्द्र,मण्डन देउपुरलाई पर्यटन र कृषि केन्द्र, भुम्लुलाई पर्यटन र कृषि केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषिअनुसन्धान केन्द्र, तेमाललाई साँस्कृतिक पर्यटन र बुद्धचित्त उत्पादन केन्द्र, रोशीलाई कृषि पर्यटन साँस्कृतिक रजैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडिबुटी र फलफुल उत्पादन तथा पशुपालन केन्द्र, खानीखोलालाईजडिबुटी कफी र पशुपालन केन्द्र, बेथानचोकलाई पर्यटन, प्राकृतिकश्रोत अध्ययन तथा पशुपालन केन्द्रकोरुपमा विकास गर्न गरुयोजना तर्जुमा गर्ने निर्णय गरेको छ ।

प्रकृति तथा सम्पदा संरक्षण र पर्यटनतर्फ पलाञ्चोक भगवती मन्दिरलाई अझै ब्यवस्थित र पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटकहरुको आकर्षणको रुपमा विकास गर्ने, पनौती नगरपालिकाको पुरानो बजारलाई विश्व सम्पदा सूचीमा राखिने तयारीलाई तदारुकताका साथ अगाडि बढाउने, नमोबुद्धमा बृहत पर्यटकीय क्षेत्रका लागि आवश्यक संरचना निर्माण गर्ने, तेमालको ऐतिहासिक दरबार उत्खनन् र संरक्षण गरि आवश्यक पूर्वाधार निर्माण गर्ने, बेथान्चोक नारायणस्थानमा आवश्यक पूर्वाधारको निर्माण गरी पर्यटन केन्द्र निर्माण गर्ने, रोशी गाउँपालिकाको भुमेचुली, ताराखसेलेक लगायतका स्थानहरुको संरक्षण र प्रचारप्रसार गर्ने, पनौती नगरपालिकाको कुशादेवीस्थित गुर्दुमडाँडाबाट सुरु भएको प्याराग्लाईडिङ्गको विकास र संरक्षण गर्ने, वनेपाको बासुकी, तनचोक, ठुलीचौर लगायतका स्थानहरुको संरक्षण र प्रचार प्रसार गर्ने, मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने नगरकोट, ठुलीचौर लगायतका स्थानमा थप ब्यवस्थित, पूर्वाधार निर्माणसहित संरक्षण र आवश्यक प्रचार प्रचार गर्ने, भुम्लुको दोलालघाट, मुलखर्क भिमसेनस्थान लगायतका स्थानको प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।

त्यस्तै धुलिखेलको देवीस्थान लगायतका विभिन्न स्थानमा रहेका पर्यटकीय स्थलहरुको संरक्षण सहित पूर्वाधार निर्माण गर्ने, श्रीरामपाटी क्षेत्रको उत्खनन् गरी संरक्षण गर्ने, अन्य सबै पालिकाहरुमा रहेका धार्मिक क्षेत्रहरुको प्रचार प्रसार, संरक्षण र प्रर्वद्धन गर्ने, हरेक पालिकामा कम्तीमा एक होमस्टे, एक पर्यटकीय गन्तब्य निर्माण गर्ने, नमोबुद्ध–३ र धुलिखेलमा खुला चिडियाखाना स्थापना गर्ने, भुमेडाँडामा चरा अध्ययन केन्द्र स्थापना गर्ने, सिमसार क्षेत्रको संरक्षणका लागि योजना वनाउने, परम्परागत पोखरी, बर पिपल चौतारीहरुको संरक्षण गर्ने र वाटर रिचार्जका लागि डाँडाहरुमा पोखरी निर्माण गर्ने निर्णय गरेको छ ।

कृषि पशुपालनतर्फ सहस्राब्दी विकास लक्ष्य अनुसार हरेक नागरिकको आयस्तर उकास्न हरेक पालिकामा वातावरण अनुकूलफलफुल उत्पादनमा प्रोत्साहन गर्ने, एक वडा एक नर्सरी र एक पालिका एक विशेष कृषि उत्पादन केन्द्रको अवधारणालाई अघि बढाउने, चौवास क्षेत्र र वाल्टिङ्गमा बोटानिकल गार्डेन सहितको चिया उत्पादन बगैचा निर्माण गर्ने, वनेपा र धुलिखेलमा बोटानिकल गार्डेन निर्माण गर्ने, ब्यवसायीक पशुपालन र ब्यवसायिक तरकारी खेतिमा जोड दिने, जिल्लामा एम्बुलेन्स सहितको सुविधासम्पन्न पशु अस्पताल निर्माण गर्ने, कृषि तथा पशुजन्य उपजको गुणस्तर जाँचकेन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालय तथा शैक्षिक क्षेत्रतर्फ एमालेले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्ने, प्रतिरक्षा विश्वविद्यालय निर्माणको कार्यलाई तिब्रता दिने, काभ्रे जिल्लामा त्रिविको आंगिक कलेज स्थापना गर्ने, एक पालिका एक प्राविधिक विद्यालय स्थापना गर्ने, हरेक विद्यालयमा विज्ञान गणित र आईटी पठनपाठनलाई ब्यवस्थित गर्ने, खगोल शास्त्र अध्ययन केन्द्र निर्माण गर्ने योजना वनाएको छ ।

अन्य पूर्वाधारतर्फ फिल्म सिटी स्टुडियो निर्माण कार्यलाई तिब्रता प्रदान गर्ने, माउण्टेन स्पोर्टस् एकेडेमीको निर्माण गर्ने, हरेक नगर तथा पालिकाहरुमा नमुना र ब्यवस्थित शहर निर्माण गर्ने, हरेक पालिकामा एक खेल मैदान निर्माण गर्ने, जिल्लामा क्रिकेट खेल मैदान निर्माण गर्ने, सम्भावित नदीहरुमा विद्युत गृह स्थापना गर्ने, पर्यटनलाई जोड दिने, सम्भावना अध्ययन गरि जलविहार स्थल निर्माण गर्ने, पुरातात्विक तथा साँस्कृतिक संग्राहलय निर्माण गर्ने, एक पालिका एक कला र साहित्य केन्द्र स्थापना गर्ने, दिगो विकासको लक्ष्य हासिल गरी काभ्रेलाई सन् २०३० भित्र गरिवी उन्मुलन गरि, शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन लगायतका पूर्वाधारहरुका माध्यमबाट सबल जिल्ला वनाउने निर्णय गरेको छ ।

एक पालिका एउटा ठुलो पर्यटकीय, धार्मिक र साँस्कृतिक पार्क निर्माण गर्ने, प्रत्येक पालिकामा महिला, युवा, दलित, र गरिब परिषद्हरु गठन गरि स्वरोजगारीको काम गर्ने र गरिबी निवारण गर्ने, एक पालिका एक अत्याधुनिक ब्यायामशाला, योग तथा प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्ने, एक पालिका एक अनाथालय स्थापना गर्ने, जिल्लाका सबै बस्तीहरुमा एक घर एक स्वच्छ खानेपानीको धाराको ब्यवस्था गर्ने निर्णय गरेको छ ।सबै बस्तिमा ईन्टरनेट सेवा पु-याउने, सिंगो काभ्रे जिल्लाको भौगर्भिक अध्ययन गर्ने, (प्राकृतिक श्रोत, विपद अवस्था, कृषि उत्पादन, बस्ति विकासआदी), ह्याण्डीक्राफ्ट उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने, जिल्लाको माईक्रो इकोनोमिक्स स्टाटस अनुसन्धान गर्ने, रसायनिक मलको भण्डारण क्षमता बृद्धि गर्ने, जिल्लामा रहेका सबै प्रमुख नदी जलाधार क्षेत्रको संरक्षणको योजना वनाउने, जिल्लाका प्रमुख शहरहरुमा शहरी सौन्दर्यकरण परियोजना लागु गर्ने, कम्पोष्ट मल उत्पादन र पानी सुद्धिकरण सहितको एकिकृत फोहोरमैला ब्यवस्थापन आयोजना सञ्चालन गर्ने निर्णय गरेको छ ।