केही समयअघि एक महिला रगत मिश्रित गन्हाउने योनिश्राव एवं तल्लो पेट दुख्ने समस्या लिई प्रसूति रोग ओपीडीमा आइपुगिन् । उनी सुत्केरी भएको दश दिनपछि आएकी थिइन् । आवश्यक चेकजाँचपछि रगत, पिसाब र अल्ट्रासाउन्डको परीक्षणपश्चात् पाठेघरभित्र सालको केही टुक्रा (तन्तु) अड्किएको पाइयो।
एन्टिबायोटिक दिएको केही समयपश्चात् सामान्य क्युरेट (पाठेघर सफा गर्ने विधि) बाट पाठेघर सफा गरिदिएपछि तङ्ग्रिएर घर फर्किइन् ।
सुत्केरी भएपछिको समयमा प्रायः सुत्केरी महिलालाई पाठेघरभित्र संक्रमण हुने र दोहोरिएर रक्तश्राव हुने समस्या देखिन्छ । यसको अलावा ज्वरो आउने, रक्तनली, फोक्सो, पिसाबनली, स्त्री जननेन्द्रिय, स्तनसम्बन्धीका साथै मानसिक स्वास्थ्यको समस्या पनि देखिन सक्छ । यसकारण सुत्केरीपश्चात्को अवधि पनि आमा तथा नवजात शिशु दुवैको लागि महत्वपूर्ण हुन्छ ।
पाठेघरको संक्रमण
प्रसवपश्चात् सुत्केरीकै कारणले हुने संक्रमणका साथै स्त्री जननेन्द्रियको तल्लो भागबाट माथिल्लो भागमा बाह्य संक्रमण पनि सरेको हुन सक्छ । प्रसवलगत्तै पाठेघरको मुख खुल्ला हुने, योनिद्वारमा घाउ–चोट पुग्ने तथा गर्भावस्थाको कुनै तन्तु बाँकी रहेका कारण पनि संक्रमण हुने सम्भावना बढी हुन्छ ।
प्रसवको २४ घण्टाभित्र ज्वरो आउनुका साथै नाडीको चाल बढ्छ । पाठेघर खुम्चिएको भए पनि तल्लो पेटमा थिच्दा दुुख्छ । गन्ध आउने योनिश्राव बग्छ । योनिद्वारको घाउ वा सिजेरियन अपरेसन गरेको भए पेटको घाउमा दुख्छ । घाउ पनि सुन्निएको देखिन्छ । टाउको दुख्ने, निद्रा नलाग्ने तथा खान मन नलाग्ने हुन सक्छ ।
पाठेघरपछाडि पीप जम्यो भने वा डिम्बवाहिनी नलीको संक्रमण भयो भने निरन्तररुपमा तल्लो पेट कडा तवरले दुख्ने, तापक्रम बढ्ने एवं नाडीको चाल बढ्ने हुन्छ । प्रसव व्यथाको शुरुवातदेखि वा सानो सुतक भएदेखि प्रसवसम्मको अवधि तथा सुत्केरीपश्चात्को शुरुवातीतिर योनिद्वारमा बनाइएको वा स्त्री जननेन्द्रियमा बनेको घाउ निको नभएर पनि पाठेघरको संक्रमण हुन सक्छ ।
यसका साथै पाठेघरभित्र साल टाँसिएको ठाउँको घाउका कारण पनि संक्रमण हुन सक्छ । ज्वरो आउने, गन्धयुक्त श्राव बग्ने हुन सक्छ । सुत्केरीपश्चात् हुने संक्रमण योनिद्वार, पाठेघरको मुख वा पाठेघरवरिपरि मात्र केन्द्रित हुन्छ । तर संक्रामक कीटाणु निकै कडा खालको छ वा सुत्केरी महिलाको रोगसँग लड्ने क्षमता कमी छ भने संक्रमण भित्री पेटको अन्य भागतिर चाँडै पैmलिन सक्छ ।
यसको व्यवस्थापनको लागि योनिद्वारको भित्ता वा पाठेघरको मुखमा चोट छ कि राम्ररी जाँच्नुपर्दछ । संक्रमणको कडापन थाहा पाउन रगतको परीक्षणका साथै रगतमा हेमोग्लोबिनको मात्रा थाहा पाउनुपर्दछ ।अल्ट्रासाउन्ड गरेर पाठेघरमा कुनै तन्तु बाँकी रहेको वा नरहेको बारे पनि थाहा पाउनुपर्दछ ।
ज्वरो ठीक नहुन्जेलसम्म दुई–तीन थरी एन्टिबायोटिक औषधि चाहिन सक्छ । औषधिबाट आशातीत सुधार भएन, रक्तश्राव भैरहे वा पाठेघरमा कुनै तन्तु बाँकी छ भने सफा (क्युरेट) गराउनुपर्दछ । संक्रमण घटाउन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्दछ । व्यथा लाग्नुपूर्व सानो सुतक भएको भए शिशुवरिपरिको झिल्लीको संक्रमण नहोस् भन्नका लागि उपयुक्त एन्टिबायोटिक चलाउनुपर्दछ ।
रक्तश्राव दोहोरिने समस्या
प्रसवको ६ घण्टादेखि ६ हप्ताभित्र हुने रक्तश्रावलाई दोहोरिएर हुने रक्तश्रावका रुपमा लिइन्छ । गर्भावस्थाका कुनै तन्तु बाँकी भई संक्रमण भएमा, पाठेघर राम्ररी नखुम्चिएमा, रगतसम्बन्धी गडबडी भएमा, मोलार गर्भ (सग्लो गर्भको ठाउँमा अंगुरको दानाजस्तै हुने गर्भ) भएमा, सुत्केरी महिलामा पाठेघरको मुखको क्यान्सर (अत्यन्त विरलै) भएमा, पाठेघरको भित्री तहमा मासु पलाएमा प्रसवपछि दोहोरिएर रक्तश्राव हुन सक्छ ।
यसको व्यवस्थापनको क्रममा बिरामीको रक्तचाप एवं नाडीको चाल परीक्षण गर्ने, खेर गएको रगतको मात्रा आँकलन गर्ने, रगत जाँच गर्ने, पाठेघरको आकार एवं राम्ररी खुम्चिएको वा नखुम्चिएको थाहा पाउने, पाठेघरको मुख खुल्ला छ÷छैन जँचाउनुपर्दछ ।
उपचारको हकमा आरामका साथै उपयुक्त एन्टिबायोटिक औषधि चाहिन्छ । अल्ट्रासाउन्ड गरी पाठेघरमा मासुका टुक्रा बाँकी भएर प्रसवपछि पनि दोहोरिएर अधिक रक्तश्राव भइरहेको भए क्युरेट गराउनुपर्ने हुन्छ ।
स्तनको समस्या
प्रसवपछि दूध गान्निने समस्या प्रायः प्रसवको दोस्रो वा तेस्रो दिनमा देखिन्छ । पहिलोपटकको सुत्केरीमा यो समस्या बढी देखिन्छ । यस अवस्थामा दूध सुन्निने, स्तन दुख्ने, स्तन तातो हुने, ज्वरो बढी आउने (साधारण मात्र ३९ डिग्रीभन्दा कम) हुन्छ । काखीको ग्रन्थि पनि बढ्न सक्छ ।
स्टेफाइलोकोकस नामको ब्याक्टेरियाले गर्दा हुन्छ । उपचारको हकमा स्तनपानलाई निरन्तरता दिने वा नदिने भन्नेमा भर पर्दछ । यदि स्तनपान गराउने हो भने बढी भएको दूध निखार्ने, कसिलो ब्रा (थुनचोली) लगाउने तथा पीडा कम हुने औषधि खाने गर्नुपर्दछ ।
यदि दूधको मुन्टामा चिरा परेको भए एन्टिबायोटिक क्रिम लगाउनुपर्ने हुन्छ । स्तनपान नगराउने भए दूध वा मुन्टा ननिचोर्ने, दुध सुकाउने औषधि खाने तथा छातीमा कसिलो कपडा लगाउने गर्नुपर्दछ । प्रसवोत्तर समयमा स्तनसम्बन्धी समस्याको उपचार गरेन भने स्तन झन् सुन्निने, उच्च ज्वरो आउने हुन्छ ।
स्तनमा पीप जमिसकेको वा पिलो आइसकेको भए प्रायः प्रसवको तेस्रोदेखि चौथो हप्तामा काम छुट्ने गरी ज्वरो आउने, पीप भरिएको भागमा धेरै दुख्ने, तापक्रम बढ्ने, नाडी चाल बढ्ने, रातो देखिने हुन्छ । उपचारको लागि दूधको कल्चर जाँच गर्नुका साथै अल्ट्रासाउन्ड गर्न सकिन्छ ।
स्तन सुन्निएको भए राम्रो खालको एन्टिबायोटिक औषधि खानुपर्दछ भने पिलो बनिसकेको भए चिर्ने, कसिलो थुनचोली लगाउने गर्नुपर्दछ । सामान्य स्तनबाट स्तनपान गराइराख्ने एवं पिलोबाट प्रभावित स्तनको दूधचाहिँ निखार्ने गर्नुपर्दछ ।
ज्वरो आउने समस्या
प्रसवको पहिलो २४ घण्टापछिदेखि पहिलो दश दिनमा ३८ डिग्रीभन्दा बढी ज्वरो आउन सक्छ । सुत्केरी महिलामा निमोनिया, स्तन समस्या, पिसाबनली संक्रमण, सिजेरियन वा इपिजियोटोमी घाउको संक्रमणका कारण उच्च ज्वरो आउन सक्छ । उपचारचाहिँ कारण अनुसार उपयुक्त एन्टिबायोटिक औषधि चलाउनुपर्दछ ।
रक्तनलीमा रगत जम्ने समस्या
सामान्य अवस्थामा भन्दा सुत्केरीपश्चात्को समयमा बढीजसो रगत जम्ने समस्या हुन सक्छ । प्रसवपछिको समयमा रगत जम्ने पदार्थ बढ्नुका साथै पिसाब बढी लागी रगतको मात्रा पनि घट्ने कारण रगत च्यापच्यापी लागी रगत जम्ने प्रक्रिया बढ्छ । यसरी पिँडौंलामा जमेको रगतको ढिक्का फोक्सोमा गएर अड्किन पनि सक्छ ।
सुत्केरीपश्चात् यताउति हिँडडुल नगर्ने तथा हातगोडा नचलाउने महिलाका साथै मोटोपना भएकी, मधुमेह एवं उच्च रक्तचापबाट ग्रसित महिलामा यो समस्या बढ्ता हुन्छ । लामो समय चलमलाएन भने पिँडौलाको रक्तनली थिचिएर रक्तनलीमा चोट लाग्न सक्छ । तसर्थ रोकथामको लागि यथाशक्य चाँडो शारीरिक अभ्यास (फिजियोथेरापी) मा जोड दिनुपर्दछ । आवश्यकता अनुसार छोटो समयका लागि रगत पातलो पार्ने औषधि चाहिन सक्छ ।
पिसाब नली संक्रमणको समस्या
करिब २ देखि ४ प्रतिशत सुत्केरी महिलामा पिसाब नलीको संक्रमण देखिन सक्छ । सुत्केरीपश्चात् मूत्रथैलीमा पिसाब भरिएको कुरा कम चाल पाउने, बच्चा जन्मिने योनिद्वार तथा योनिमार्गमा कतै चोटपटक लाग्ने, बच्चा जन्मिने कार्य सहज बनाउन योनिमार्ग ठूलो पार्ने इसिजियोटोमी घाउको कारण, दुखाइ कम गर्ने औषधिको प्रयोग तथा पिसाब निख्राउनका लागि हालिएको पाइप आपैंmले पनि पिसाबको संक्रमण बढाउँछ ।
सुत्केरीपश्चात् पनि पिसाबमा ब्याक्टेरिया देखियो भने जीर्ण प्रकारको संक्रमण, पिसाब नलीमा कतै अवरोध तथा जन्मजात कुनै खराबी शंका गर्नुपर्दछ ।
सुत्केरीपश्चात् मानसिक समस्या
बच्चालाई जन्म दिएको दुई महिनाभित्र केही महिलालाई विभिन्न मानसिक स्वास्थ्य समस्या देखिने हुन्छ । सुत्केरी महिलामा देखिने मानसिक स्वास्थ्य समस्याहरुमा उदासीपन, अवसाद र मानसिक असन्तुलन प्रमुख हुन् । यससम्बन्धी विस्तृतमा साधना मासिक (फागुन २०७७ अंक) मा समेटिइसकेको छ ।
प्रतिक्रिया