वर्षा र हिमपातले किसान खुसी

0
Shares

बैतडी ।

वर्षा र हिमपातले बैतडीका किसान खुसी भएका छन् । यहाँका उच्च पहाडी क्षेत्रमा यो महिना दोस्रोपटक बुधबार हिमपात भएको हो । यसअघि माघ १० गते पनि यहाँ हिमपात भएको थियो ।

केही दिनदेखि मौसम परिवर्तनले यहाँको देहिमाडौं, ढोल्यामोड, अनारखोली, खोडपे, सुपले, रौलाकेदार, शतबाँझ कठपतेलगायतका स्थानमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । वर्षासँगै हिमपात भएपछि किसानहरु खुसी भएका छन् । हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । हिमपात र वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने दशरथचन्द नगरपालिका–१ का किसान राजबहादुर टेरले बताउनुभयो । ‘समय–समयमा भइरहेको वर्षा र हिमपातले बाली सप्रिने देखिन्छ, सबै किसान खुसी छन् ।’ –उहाँले भन्नुभयो ।

यो वर्ष हिमपातले हिउँदे फलफूलका निकै सहयोग पुग्ने सुख्खा फलफूल विकास केन्द्र शतबाँझका प्रमुख डम्मरसिंह भाटले बताउनुभयो । ‘चिसो बढे पनि बर्षा र हिमपातले बालीनालीका लागि सहयोग पुग्छ ।’ –उहाँको भनाइ छ ।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । वर्षासँगैको हिमपातले चिसो बढएकाले जनजीवन कष्छकर बनेको हो । हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ ।
यसअघि गत पुसमा पनि दुईपटक हिमपात भएको थियो ।