सरकारविरुद्ध आन्दोलनको चेतावनी

0
Shares

हेटौंडा ।

युवा संघ नेपालले सरकारविरुद्ध चरणबद्धरूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संघ नेपाल केन्द्रीय अध्यक्ष किरण पौडेलले हेटौंडामा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुएको हो ।

सरकार गलत बाटोमा अगाडि बढेका कारण सरकारविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको भन्दै उहाँ भन्नुहुन्छ– ‘सरकार गलत बाटोमा अगाडि बढिरहेको छ । स्थानीय तहको निर्वाचन समयमा नगर्ने र गठबन्धनका नाममा ब्रह्मलुट मच्चाउने तयारी भइरहेको छ । त्यस कारण हामी सरकारविरुद्ध आन्दोलनमा जान्छौं ।’ पौडेलले केही दिनभित्र युवा संघले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो ।

संघीय सरकार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त नगरेसम्म मधेस प्रदेशमा जारी युवा संघको आन्दोलन नरोकिने समेत उहाँले बताउनुभयो । पौडेलले वर्तमान सरकारलाई संविधानअनुसार स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने वातावरण तयार पार्न पनि आग्रह गर्नुभएका थियो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पनि स्थानीय तहको निर्वाचन सार्ने खेलमा लागे मुलुकले थेग्नै नसक्ने आन्दोलन हुने चेतावनी दिनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार निर्वाचन सार्ने दाउ हेरिरहेको भन्दै नेकपा एमालेका जनवर्गीय संगठनले त्यसको सशक्त प्रतिकार गर्ने उहाँले बताउनुभयो ।

प्रेस चौतारी मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा युवा नेता बस्नेतले पाँचदलीय गठबन्धनका रूपमा रहेको वर्तमान सरकारको काम नेकपा एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा केन्द्रित भइरहेको आरोपसमेत लगाउनुभयो । एमाले पाँचदलीय गठबन्धनविरुद्ध एक्लै चुनाव लड्न तयार रहेको उहाँको दाबी छ । नेता बस्नेतले संविधानअनुसार स्थानीय तहको मिति तत्काल घोषणा गर्नसमेत माग गर्नुभयो ।

सरकारका मन्त्रीहरु मन्त्रालयको कामकारबाहीमा केन्द्रित हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश उपसचिव महेश बर्तौला, नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठ, युवा संघ केन्द्रीय आर्थिक विभाग प्रमुख सन्तोष चौलागाईंलगायतको उपस्थिति थियो ।