हेटौंडा अस्पताललाई ५१ लाखको स्वास्थ्य सामग्री

0
Shares

हेटौंडा, (नेस) ।

मकवानपुरका नेता विरोध खतिवडा देशका स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका बेला मन्त्रालयले हेटौंडा अस्पताललाई करिब ५१ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । बिहीबार वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई २ वटा भेन्टिलेटर, १० वटा वेड साइडलकर र दुईवटा मनिटर हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य साम्रगी हस्तान्तरण गर्दै मन्त्री लामाले हेटौंडा अस्पतालाई जिल्लाको अस्पतालमात्र नभएर प्रदेशकै सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्न सरकार तत्पर रहेको बताउनुभयो । प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य सेवाको अभावले बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटाउन पहल गरिरहेको बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सापकोटाले हाल अस्पतालमा संघीय सरकारको सहयोगसँगै भेन्टिलेटर १२ वटा पुगेको जानकारी दिनुभयो । १२ वटा भेन्टिलेटरले २५ वटा बेडसम्मलाई सेवा दिन सक्ने उहाँले बताउनुभयो ।

उता, रोटरी क्लब अफ धुलिखेलले रोटरी क्लब अफ मकवानपुरलाई कोभिड–१९ न्यूनीकरणमा प्रयोग हुने मेडिकलजन्य वस्तु सहयोग गरेको छ । बिहीबार हेटौंडामा धुलिखेलका आगामी अध्यक्ष जीवनकाजी मकाजुले मकवानपुरका आगामी अध्यक्ष कृष्णबहादुर कार्कीलाई मेडिकलजन्य वस्तु हस्तान्तरण गर्नुभएको हो ।

धुलिखेलले मकवानपुरको विकट क्षेत्रमा वितरण गर्न मास्क, सेनिटाइजर, थर्मल गन, फेससिल्ड, सर्जिकल क्याप, पन्जालगायत सामग्री सहयोग गरेको छ । उक्त सामग्री विकट बस्ती छनोट गरेर हस्तान्तरण गरिने रोटरी क्लब पूर्वअध्यक्ष कविन सांगामीले बताउनुभयो ।