नेपालगन्जमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष

0
Shares

बाँके ।

आँखाको शल्यक्रियाका लागि देशमै पहिलोपटक नेपालगन्जमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष निर्माण गरिएको छ । नेपालगन्जको भिजन आँखा अस्पतालले नयाँ प्रविधि थपेर स्तरोन्नति गर्दै आँखाको शल्यक्रियाका लागि मोडुलर शल्यक्रिया सेवा उपलब्ध गराउनका लागि उक्त नयाँ कक्ष निर्माण गरेको हो ।

‘देशभर भएका आँखा अस्पतालमध्ये हामीले पहिलोपटक अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष (अप्रेसन थियटर) निर्माण गरेका छौं’, अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतम भननुहुन्छ– ‘तर, नयाँ खुलेका जनरल अस्पतालहरुमा भने यो सेवा निर्माण गरिएको छ । नेपालका पुराना र ठूला आँखा अस्पतालहरुमा पनि मोडुलर शल्यक्रिया कक्ष छैन ।’

अहिलेसम्म दैनिक २० देखि २५ वटा आँखाको विद्यमान शल्यक्रिया कक्षबाट शल्यक्रिया गर्ने क्षमता रहेकोमा दुईवटा मोडुलर शल्यक्रिया कक्ष थपिएसँगै दैनिक १ सय जनाको शल्यक्रिया गर्न सक्ने गरी क्षमता विस्तार भएको उहाँले बताउनुभयो । मोडुलर शल्यक्रिया कक्ष निर्माण महँगो प्रविधि भएकाले सामान्य अप्रेशन थियटरबाट काम भइरहेको बताउँदै वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. गौतमले यो प्रविधिबाट मुख्य रूपमा अस्पतालमा शल्यक्रियापछि हुने संक्रमणबाट विरामीको आँखालाई जोगाउन सकिने भएकाले निर्मलीकरणका लागि पनि विशेष व्यवस्था गरिएको बताउनुभयो ।

‘आँखासम्बन्धी कुनै पनि समस्या सम्भव भएसम्म नेपालगन्जमै उपचार हुने गरी हामी काम गरिरहेका छौं । आँखा उपचारका लागि नेपालको राजधानी काठमाडौं वा छिमेकी मुलुक भारतमा जानुपर्ने बाध्यताको अन्त्य गराउने हाम्रे उद्देश्य हो’, उहाँ भन्नुहुन्छ– ‘भिजन आँखा अस्पतालमा अहिले दैनिक आठदेखि दश जनाको आँखाको शल्यक्रिया भइरहेको छ ।’
छिमेकी मुलुक भारतबाट समेत आउने बिरामीहरुलाई सेवा दिँदै आएको भिजन अस्पतालमा जलविन्दु, मोतियाविन्दु र दृष्टि पर्दाको समस्या भएका बिरामी शल्यक्रिया हुने गरेको छ ।

२०७५ माघ २७ गते नेपालगन्जको मुख्य केन्द्र सुर्खेतरोडस्थित नेपालगन्ज मेडिकल कलेजको सामुन्ने १५ शैय्या क्षमताबाट शुरु गरिएको भिजन आँखा अस्पतालमा अहिले करिब ५० लाख रुपियाँको लागतमा एउटा मोडुलर र अर्को सेमिमोडुलर गरी दुईवटा शल्यक्रिया कक्ष निर्माण गरिएको अस्पतालका प्रबन्ध निर्देशक बाबुतरुण गौतमले जनाउनुभयो । उहाँका अनुसार आगामी आइतबारदेखि मोडुलर शल्यक्रिया कक्षमार्फत नयाँ सेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उक्त कामका लागि भारतीय प्राविधिकले युद्धस्तरमा काम गरिरहेका छन् । अस्पतालमा जनरल वार्डका बिरामीलाई शैय्या निःशुल्क उपलब्ध गराइएको छ । अस्पतालले तीनवटा स्पेसल क्याबिन बनाइरहेको प्रवन्ध निर्देशक गौतमले बताउनुभयो ।

एक कार्यक्रमको आयोजना गरेर अस्पतालले सो बारेमा जानकारी गराएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले केही वर्ष पहिलेसम्म पश्चिम नेपालका नेपाली आँखाको उपचारका लागि भारतको सीतापुरमा जानुपर्ने बाध्यताको केही वर्षदेखि नेपालगन्जमै खोलिएका आँखा अस्पतालहरुले दिँदै आएको सेवाका कारण अन्त्य भएको बताउनुभयो ।
बाँकेमै जन्मिएका वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतमले पर्याप्त तलब, सेवा–सुविधा पाएको जागिर त्यागेर आफ्नै ठाउँमा भिजन आँखा अस्पताल सञ्चालन गरेर स्तरोन्नति गर्दै उपचारका लागि गरिरहेको गुणस्तरीय सेवाको विस्तारले अस्पतालप्रतिको जनविश्वास बढाउँदै गएको उहाँको कथन छ ।

भिजन आँखा अस्पतालमा डा. प्रचण्ड गौतमबाहेक दुई जना काठमाडौं र भैरहवाबाट आँखा रोग विशेषज्ञ, २ जना स्थायी रूपमा आँखा रोग विशेषज्ञ, आँखा, प्रयोगशाला, एक्सरे सम्बन्धी ३ जना प्राविधिकलगायत २५ जना कर्मचारी कार्यरत छन् ।