गेटा विमानस्थलसँग सात बुँदे सहमति

0
Shares

डोटी ।

कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नति गर्नका लागि सातबुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सात बुँदे सहमति भएको हो ।

विमानस्थलको स्तरोन्नति तथा जग्गा अधिग्रहणका लागि आर्थिक वर्ष २०७८/०७९ भित्र घरजग्गा अधिग्रहण तथा स्तरोन्नतिका लागि आवश्यक स्रोत सुनिश्चितता गरी त्यसपछिको दुई वर्षभित्र मुअब्जा वितरणको व्यवस्था गरिनुपर्ने, अधिग्रहण गर्दा अधिग्रहणमा पर्ने सबै व्यक्ति, समुदायको अध्यन गरी उचित मुअब्जाको व्यवस्था गरिने, अधिग्रहण गर्दा सम्बन्धित परिवार, टोल विकास समिति र समन्वय समितिका दुई–दुई जना आमन्त्रित गरी सहभागिताको सुनिश्चितता गरिने, मुअब्जा निर्धारण गर्दा अधिग्रहण हुने क्षेत्रबाहेक नजिकमा हुन सक्ने बजार मूल्यको आँकलन गरी समयमै मुअब्जा वितरणको व्यवस्था मिलाइनुपर्ने, मुअब्जा वितरणको सम्पन्नता नभएसम्म घर जग्गाको भोगचलनमा कुनै पनि प्रकृतिको अवरोध नगर्ने, नेपालको प्रचलित कानुन जग्गा प्राप्ति ऐन र पूर्वाधार विकास आयोजनाका लागि जग्गा प्राप्ति पुनर्बास तथा पुनःस्थापनासम्बन्धी नीतिबमोजिम हुने तथा विमानस्थलको स्तरोन्नतिका लागि टोल विकास समिति, समन्वय समिति र टोलवासीका तर्फबाट कुनै पनि बाधा अवरोध नगर्ने सहमति भएको गेटा विमानस्थल प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो । उक्त विमानस्थल स्तरोन्नति तथा जग्गा अधिग्रहणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ ।

क्षेत्रीय विमानस्थलका रूपमा गेटालाई विकास गर्न २ सय ५८ दशमलव २५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने गुरुयोजनालाई नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले स्वीकृत गरेपछि सर्भेको काम अघि बढेको छ । विमानस्थल स्तरोन्नतिका लागि परामर्शदाता कम्पनीको प्राविधिक टोलीले ड्रोनबाट सर्भेको काम गर्न थालेको बताइएको छ । सुविधासम्पन्न विमानस्थल निर्माणका लागि १५ अर्ब बजेट आवश्यक पर्ने देखिएको प्रमुख भट्टले जानकारी दिनुभयो ।

२ सय ५८ दशमलव २५ बिघा जग्गा अधिग्रहणका लागि थप ८ अर्ब चाहिने भएकाले प्रभावित क्षेत्रका स्थानीयको उचित व्यवस्थापन हुने मन्त्री आलेले बताउनुभयो । ‘घर जग्गा अधिग्रहणमा पर्ने, नागरिकको मर्मअनुसार मुअब्जाको व्यवस्थापन गरिने भएकाले विमानस्थल स्तरोन्नति र अधिग्रहण कार्यमा सबैको सहयोग आवश्यक छ ।’ –उहाँले भन्नुभयो ।