गुल्मीमा छैन औषधिको अभाव

0
Shares

गुल्मी ।

देशभर सिटामोल अभाव भइरहेका बेला गुल्मीमा भने कुनै पनि औषधिको अभाव नभएको पाइएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर गुल्मीमा सरकारी टोलीले निजी औषधि पसलहरुको अनुगमन गर्ने क्रममा सो पुष्टि भउको हो ।

पछिल्लो समयमा फैलिरहेको कोरोनाको तेस्रो लहरमा धेरै संक्रमित भइरहेका छन् । यही समयमा बढी प्रयोग भइरहेको औषधि सिटामोल अभावले कतिपय स्थानमा उपचारमा महँगो रकम खर्चेर औषधि किन्नुपर्ने बाध्यता पनि रहेको छ । अनुगमन गरिएका औषधि पसलहरुमा कुनै पनि औषधिको अभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो ।

आउने दिनमा सिटामोललगायतका औषधिहरुको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गरेर जिल्लास्थित औषधि व्यवसायी संघसँग समन्वय भइरहेको पनि उहाँको भनाइ छ । गुल्मी अस्पतालमा पनि कुनै औषधिको अभाव नभएको अस्पतालका डाक्टर उत्तम पच्या बताउनुहुन्छ । त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गोपालबहादुर कार्की पनि जिल्लामा औषधि अभाव नदेखिएको बताउनुहुन्छ ।

अनुगमनका क्रममा औषधिको अभाव नदेखिए पनि जिल्लामा पर्याप्त मात्रामा औषधि भने नभएको उहाँको कथन छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई, गुल्मी अस्पतालका डाक्टर उत्तम पच्या, जिल्ला जनस्वास्थ्य कार्यालयका गोपालबहादुर कार्की तथा पत्रकारको समूहले जिल्लास्थित निजी औषधि पसलहरूमा अनुगमन गरिएको थियो ।