खाडल खनेर गाढेको अवस्थामा दुई पुरुषको शव फेला

0
Shares

विराटनगर ।

मोरङको धनपालथान गाउँपालिका–७ बोर्डिङटोलस्थित उखुबारीमा खाडल खनेर गाढेको अवस्थामा दुई जना पुरुषको शव फेला परेको छ । ३०–४० वर्षीय देखिने दुई जना पुरुषको शव बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाढेको अवस्थामा शव भेटिएको हो । फेला परेको शव एक जना ४० वर्ष देखिने पुरुषको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ ।

दुई जना पुरुषको शव फेला परेकोमध्ये एक जना पुरुषको पहिचान खुलेको छ । बिहीबार दिउँसो उत्खनन गरेर निकालिएको शव सुनसरीको धरान–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिनुभयो ।

उनको साथमा एनटीसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला परेको एसपी जिसीको बताउनुहुन्छ । सोही ठाउँदेखि ३० मिटरपूर्व उखुबारीमा भेटिएको अर्का एक पुरुषको पहिचान खुल्न बाँकी छ । बिहीबार उखुबारीमा सात फिट गहिरो खाडल खनेर गाढेको अवस्थामा श्रेष्ठको शव भेटिएको हो । उनको हत्या गरेपछि खाडल खनेर गाढेको अवस्था शव फेला परेको छ । शव फेला परेको उखुबारी स्थानीय बरजंगी सिंहको रहेको छ । बिहीबार एउटा खाल्डोबाट शव निकालिएको स्थानदेखि करिब ३० मिटरपूर्व गंगाप्रसाद सिंहको उखुबारीमा पनि ३०/३५ वर्षका अर्का एक पुरुषको शव बुधबार राति भेटिएको थियो । दुवै शवको प्रकृति एकै तरिकाले खाडल खनेर गाढेको अवस्था शव भेटिएको मोरङ प्रहरीका एसपी जिसीले जानकारी दिनुभयो ।

उखु काट्ने क्रममा किसानले खनेर पुरेको अवस्थामा खाल्डो भेटेका थिए । शंकास्पद खाल्डो भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खाल्डो खनेर हेर्दा कपडासहित गाडेको अवस्थामा पुरुषको शव भेटिएको थियो । एसपी जिसीका अनुसार दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको देखिन्छ । तर, कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उहाँले बताउनुभयो ।

घटनास्थलमा संघीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर ल्याएर घटनास्थलमा स्निफिङ गराइएको छ । घटनास्थल बस्तीबाट करिब ५ सय मिटर टाढा पर्छ । एकान्त र उखुबारीको बीचमा भएका कारणले हत्याराले शव गाड्न सहजै सो स्थान प्रयोग गरेको प्रहरीको निष्कर्ष छ । अहिले घटनास्थलमा मोरङ प्रहरी प्रमुख एसपी जिसी, डीएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहितका प्रहरी टोली पुगेर घटनाको अनुसन्धान गर्दै आएको छ । यहाँका स्थानीयले हत्या गरेर शव लुकाउन उखुबारीमा ल्याएर गाढेको हुन सक्ने भएकाले घटनाको गहनरूपमा अनुसन्धान गरिनुपर्ने स्थानीयले माग राखेका छन् । ‘दुई पुरुषको शव उखुबारीमा गाढेको अवस्थामा फेला परेकाले हत्या भएको हुन सक्छ ।’– धनपालथान गाउँपालिका–७ का वडाध्यक्ष हरिप्रसाद यादवले भन्नुभयो ।