जिप दुर्घटनामा २ जनाको मृत्यु, एक घाइते


न्युज अफ नेपाल, इलाम ।

मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट खस्दा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र सोही स्थानका ४० वर्षीय सूर्यबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

रोङ गाउँपालिका-४ पहिरोमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् । दुर्घटनामा मेचीनगर नगरपालिका-४ का ३३ वर्षीय चालक अर्जुन कोइराला घाइते भएका छन् । उनको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।