विदेशमा ५८ इलामेको मृत्यु

0
Shares

इलाम ।

वैदेशिक रोजगार बोर्डको गएको पाँच वर्षको तथ्याङ्कलाई हेर्दा इलामबाट वैदेशिक रोजगारीमा गएका ५८ जनाको ज्यान गएको छ । जसमा तीन जना महिला छन् भने बाँकी ५५ जना पुरुष छन् । बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा १९ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा ११ जनाले अकालमा ज्यान गुमाएका थिए ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ९ जनाको मृत्यु हुँदा आर्थिक वर्ष २०७७/०७८ मा ११ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यस्तै, चालू आर्थिक वर्ष (२०७८/०७९) को पुस मसान्तसम्म ८ जना गरी पाँच वर्षको अवधिमा ५८ जना इलामे नागरिकको वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका इलामेको मृत्यु भएको छ ।

यो तथ्यांकमा भिजिट भिसामा जानेहरुको संख्या समावेश नभएको बार्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि मात्रै पनि इलाममा राहादानी बनाउने युवाहरु अत्यधिक रहेका छन् । जिल्लाका माईनगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुंग गाउँपालिकाका युवाहरु सबैभन्दा बढी वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका छन् । इलामबाट अधिकांश मलेसिया, कतार, दुवै, कुवेतजस्ता खाडी मुलुकमा रोजगारीका लागि पुगेका छन् ।

परदेशको हावापानी, खानपिनलगायतका कारणले धेरै नेपालीको सुतेको अवस्थामा नै मृत्यु भएको समाचारहरु आइरहेका छन् । त्यस्तै, सवारी दुर्घटनालगायतका कारणले पनि नेपालीले ज्यान गुमाइरहेका छन् ।